काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध सामान्य कार्यनीतिक मात्र नभई दूरगामी महत्त्वको रणनीतिक सम्बन्ध भएको बताएका छन् ।
शनिबारदेखि काठमाडौंमा सुरु भई सम्पन्न भएको ‘काष्ठमण्डप संवाद शृङ्खला–३’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकसित भइरहेको विश्व तथा क्षेत्रीय भू–राजनीतिक परिस्थितिका बीच दुई देशको सम्बन्धले असाधारण महत्त्व राख्ने उल्लेख गरे ।
‘शान्ति, विकास र समाजवादका लागि फाउन्डेसन’ का संरक्षक समेत रहेका नेता खनालले छिमेकमा तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास हासिल गरिरहेको विश्वशक्ति हुँदा पनि नेपालले त्यसबाट पर्याप्त लाभ लिन नसकेको बताए । उनले दुई देशबीचको सम्बन्धलाई थप गहिरो, व्यापक र समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
नेपालले एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहँदै आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन दिन नहुने उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा चीनले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । विशेषगरी भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिपछि चीनले देखाएको ऐक्यबद्धता र उपलब्ध गराएको राहत सहयोग छिमेकी मित्रताको उदाहरण भएको उनको भनाइ थियो ।
चीनको विकास अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउँदै पूर्वप्रधानमन्त्री खनालले राजनीतिक स्थिरता बिना विकास सम्भव नहुने धारणा राखे ।
उनले भने, ‘चीनले आफ्नै मौलिक विशेषतामा आधारित समाजवादी मोडल विकास गरेको छ । हामीले पश्चिमा लोकतन्त्रको अन्ध नक्कल गर्यौं, तर अब नेपालले पनि आफ्नो ५ हजार वर्ष लामो इतिहास, सभ्यता र मौलिक विशेषताअनुरूपको रूपान्तरणको बाटो तय गर्नुपर्छ ।’
समापनका क्रममा नेता खनालले दुईदिने संवादमा नेपाल तथा चीनका विज्ञ, प्राध्यापक तथा अध्येताहरूले प्रस्तुत गरेका कार्यपत्र र निष्कर्षहरूलाई समेटेर फाउन्डेसनले छिट्टै पुस्तकका रूपमा प्रकाशन गर्ने जानकारी दिए । साथै, यस्ता संवाद शृङ्खलाहरूलाई प्रत्येक तीन महिनामा निरन्तरता दिइने योजना रहेको पनि उनले बताए ।
View : 20
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved