Biratnagar, Morang, Nepal
देश

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

-
अखवारका कुरा
१७ पुष २०८२, बिहिवार

Advertisement

 

काठमाडौं । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।

‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूल नारासहित आज राष्ट्रिय पोशाक दिवस मनाउन लागिएको हो ।

वि.सं. २०७० सालमा काभ्रेपलान्चोकको बनेपाबाट सुरु गरिएको राष्ट्रिय पोशाक दिवसको उद्देश्य नेपाली पोशाकको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नु हो। विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्।

दौरा–सुरुवाल, ढाका टोपी र गुन्यू–चोलीजस्ता पोशाक नेपाली पहिचानका प्रतीक मात्र नभई नेपालको अन्तर्राष्ट्रिय छविसँग जोडिएको विषय भएकाले सरकारले नै राष्ट्रिय पोशाकको औपचारिक घोषणा गर्नुपर्ने माग अभियानको मुख्य एजेन्डा रहेको छ । पछिल्लो १० वर्षदेखि राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले सम्बन्धित निकायमा निरन्तर पैरवी गर्दै आएको जनाएको छ।

अभियन्ताहरूका अनुसार हरेक देशले आफ्नो राष्ट्रिय पहिचान झन्डामार्फत देखाएजस्तै पोशाक पनि पहिचानको महत्वपूर्ण आधार हो। विदेश भ्रमण, औपचारिक कार्यक्रम तथा कूटनीतिक भेटवार्तामा राष्ट्रिय पोशाक प्रयोग गरिनु देशको शान र सम्मानसँग जोडिएको विषय भएको उनीहरूको धारणा छ।

यसै अवसरमा नेपाली टोपी दिवस पनि स्वस्फूर्त रूपमा मनाइँदै आएको छ। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे चर्चा गरिएको छ। खेतदेखि विदेशसम्म, युद्धदेखि उत्सवसम्म नेपाली टोपीले नेपाली शिरको पहिचान बोकेको अभियन्ताहरूको भनाइ छ ।

 

View : 113

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved