Biratnagar, Morang, Nepal
राजनीति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा : “पार्टीप्रति निष्ठा कायम छ, विचलित हुने प्रश्नै उठ्दैन”

-
अखवारका कुरा
९ साउन २०८२, शुक्रवार

Advertisement

काठमाडौँ । नेकपा (एमाले) की पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यताको नवीकरणसम्बन्धी विवादबीच आज सार्वजनिक रूपमा मौनता तोडेकी छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीप्रतिको निष्ठा, योगदान र आगामी राजनीतिक यात्राका सम्बन्धमा स्पष्ट धारणा सार्वजनिक गर्दै भनिन् – “म राजनीतिमा फर्किएकी छु, एमालेमै रहन्छु ।”

पछिल्लो केही समयदेखि नेकपा एमालेभित्र पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयले व्यापक चर्चा पाउँदै आएको थियो । यसै सन्दर्भमा उनले भनिन्, “राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि मैले अध्ययन, विश्लेषण र आत्ममूल्यांकन गर्दै राजनीतिक यात्रालाई निरन्तरता दिने निर्णय गरेकी हुँ । त्यसअनुसार म विधिपूर्वक पार्टीको सदस्य बनेर नवीकरण गरिसकेको छु ।”
भण्डारीका अनुसार असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका दिन आयोजित कार्यक्रममा नै उनले सार्वजनिक रूपमा सदस्यता नवीकरणको घोषणा गरेकी थिइन् । तर, त्यसको केही दिनपछि नेकपा (एमाले) केन्द्रीय कमिटीले उनी सदस्य नभएको भनी निर्णय लिएकोमा उनले आश्चर्य र दुःख व्यक्त गरिन् ।

उनले सदस्यता नवीकरणप्रति प्रश्न उठाइनु केवल भावनात्मक निर्णय भएको टिप्पणी गरिन् । “नेपाली संविधानले दलमा आबद्ध हुने हकलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको छ, त्यसैले पार्टीप्रतिको निष्ठा भएका मलाई वञ्चित गरिनु दुर्भाग्यपूर्ण हो,” उनले स्पष्ट गरिन् ।

उनको भनाइमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे सौहार्दपूर्ण छलफल समेत भएको थियो । “अध्यक्षसँगको भेटमा मैले सदस्यता नवीकरणको सम्पूर्ण प्रक्रिया पुरा भइसकेको जानकारी गराएको थिएँ,” उनले भनिन्, “त्यसको भोलिपल्टै केन्द्रीय कमिटीबाट विपरीत निर्णय आउनु राजनीतिक परिपक्वताको कमी हो ।”


पूर्वराष्ट्रपति भण्डारीले आफूसँग कुनै पदप्रति लोभ, लालसा वा आकांक्षा नरहेको स्पष्ट पार्दै भनिन्, “मैले राष्ट्रकै सर्वोच्च पद सम्हालेँ, अब बाँकी जीवन पार्टी र राष्ट्र सेवामा अर्पण गर्ने संकल्प लिएको छु ।”

उनले एमाले पार्टीलाई बलियो, संगठित र वैचारिक रूपमा स्पष्ट बनाउने अभियानमा लाग्न चाहेको बताउँदै भनिन्, “म सदस्य भएकै नाताले बोलिरहेकी छु, यो पार्टी बनाउने हजारौंको पसिना र रगतको योगदानलाई म सुम्पन सक्दिन । "

भण्डारीले नेकपा (एमाले) कार्यकर्तामाझ आह्वान गर्दै भनिन् – “जबजको मर्म अनुसार विवेकसम्मत निर्णय लिऔं, पार्टीको एकता, साख र सिद्धान्त जोगाऔं ।” उनले पार्टीका पुराना मूल्य, आदर्श र आस्था कायम राख्दै सबल संगठन निर्माणमा लाग्न सबै पंक्तिलाई आग्रह गरिन् ।


उनले बिनाचिन्तन र आवेगमा गरिएका निर्णयहरूले पार्टीको साख गुम्ने चेतावनी दिँदै भनिन्, “सत्यलाई लुकाउन सकिँदैन, जबजको मर्म अपमानित भयो भने पार्टी पनि विचलित हुन्छ ।” ४५ वर्षदेखि पार्टीसँगै यात्रामा रहेकी नेतृले विगत सम्झाउँदै थपिन्, “आज म भावनाले होइन, विवेकले बोलिरहेकी छु ।”

उनको यो निर्णयलाई एमालेले कसरी हेर्छ भन्नेमा आम जनमानसको चासो रहेको छ । 

View : 49

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved