काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपालको यो दोस्रो उपाधि हो । यसअघि नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई नै सात विकेटले हराउँदै उपाधि जितेको थियो ।
युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएईले ४९.२ ओभरमा २६८ रनमात्रै बनायो । राहुल चोपडाले शतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । उनी १०० रनमा नटआउट रहे ।
यस्तै, शोहैब खानले ५२ तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ रन जोडे ।
बलिङतर्फ नेपालका करण केसीले तीन तथा ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले एक–एक सफलता हात पारे ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन जोड्यो ।
ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे ।
यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए ।
जितसँगै नेपालले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान समेत बनाएको छ ।
View : 29
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved