विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर कार्यसमितिको उपाध्यक्ष पदमा श्रुती शर्माले दाबी प्रस्तुत गरेकी छन्। पार्टी संगठनमा १५ वर्षदेखि सक्रिय रहँदै आएकी शर्मा उद्यमी, महिला नेतृत्व तथा व्यावसायिक संघसंस्थाको अनुभवसहित महानगर नेतृत्वमा आफ्नो भूमिका खोज्दै अघि बढेकी हुन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेकी शर्मा लामो समयदेखि पार्टीका संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। यसपटक उनले महानगर उपाध्यक्ष पदमा आफ्नो दाबी अघि सारेकी हुन्।
राजनीतिसँगै व्यवसाय र सामाजिक क्षेत्रमा समेत सक्रिय शर्माको नेतृत्व अनुभव विभिन्न संस्थामा फैलिएको छ। उनी किण्डर पिलर एकेडेमीकी सञ्चालक हुन्। त्यस्तै रोटरी क्लब विराटनगर सेन्ट्रलकी पूर्व अध्यक्ष, नेपाल युवा उद्यमी मञ्च सुनसरीकी पूर्व कार्यसमिति सदस्य तथा महिला उद्यमी संघ नेपाल मोरङकी पूर्व कार्यसमिति सदस्यका रूपमा काम गरिसकेकी छन्।
मोरङ उद्योग व्यापार संघमा पनि शर्माले महिला नेतृत्वको जिम्मेवारी सम्हालिसकेकी छन्। उनी संघको महिला समिति संयोजक रहिसकेकी छन् भने हाल निर्वाचित कार्यसमिति सदस्यका रूपमा कार्यरत छिन्।
उद्यमी तथा व्यावसायिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टी संगठनमा उपयोग गर्ने लक्ष्यसहित आफू महानगर उपाध्यक्षको दाबीमा अघि बढेको शर्माले बताएकी छन्। महिला सहभागिता, उद्यमशीलता र संगठनलाई थप प्रभावकारी बनाउने विषयलाई उनले प्राथमिकतामा राखेकी छन्।
१५ वर्षको कांग्रेस राजनीतिक यात्रा, १४औँ महाधिवेशनको क्षेत्रीय प्रतिनिधिको अनुभव तथा विभिन्न सामाजिक–व्यावसायिक संस्थामा नेतृत्व सम्हालेको पृष्ठभूमि बोकेर शर्माले महानगर उपाध्यक्षमा दाबी प्रस्तुत गरेकी हुन्। उनको दाबीले विराटनगर कांग्रेसको महानगर नेतृत्वमा महिला तथा उद्यमी क्षेत्रको प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।
View : 29
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved