काठमाडौं । नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ ।
निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरु विदेश पलायन भइरहेका छन् ।
कम तलब, कामको उच्च दबाब, सीमित सेवा–सुविधा र भविष्यप्रतिको असुरक्षाका कारण धेरै नर्स विदेशतर्फ आकर्षित भएका छन् । यद्यपी, देशभर नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या भने बढ्दो अवस्थामा छ ।
अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै काठमाडौं क्यान्सर सेन्टरकी म्याट्रोन (नर्स प्रमुख) निस्ता खत्रीले नर्सिङ पेशा केवल जागिर नभइ सेवाभावसँग जोडिएको पेशा भएको बताइन् । उनले बिरामीको पीडालाई आफ्नै पीडा ठानेर काम गर्नसक्ने भावना नभएसम्म सफल नर्स बन्न कठिन हुने बताइन् ।
उनले पछिल्लो समय नेपालमा नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढिरहेको उल्लेख गर्दै देशभित्र मात्र नभइ विदेशमा पनि नेपाली नर्सहरूको माग उच्च रहेको बताइन् ।
खत्रीका अनुसार नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, त्यसका लागि संवेदनशील मन आवश्यक पर्छ । ‘बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झन सक्नुपर्छ । बिरामीको घाउ, पीडा, मानसिक अवस्था र आर्थिक समस्यालाई बुझेर सेवा गर्न सक्ने व्यक्ति मात्रै असल नर्स बन्न सक्छ,’उनले भनिन् ।
उनले नर्सिङ क्षेत्रमा महिलाको मात्रै सहभागिता भन्ने पुरानो सोच अझै समाजमा रहेको बताइन्। तर पछिल्ला वर्षहरूमा पुरुष नर्सको संख्या पनि विस्तारै बढिरहेको उनको भनाइ छ । ‘पहिले नर्सिङलाई महिलाले मात्र पढ्ने विषय मानिन्थ्यो। अहिले पुरुषहरू पनि नर्सिङ पढिरहेका छन् । विदेशमा नेपाली पुरुष नर्सहरूले राम्रो अवसर पाएका छन् ।
उनले भनिन्,‘सुरुमा के भयो भनेदेखि नर्सिङ भन्ने बित्तिकै सबै अब केटीले नै पढ्ने विषय भन्ने भयो । वर्तमान समयमा चाँही हेर्नुहुन्छ भने मेल नर्स नभएको होइन अझैपनि एउटा ब्याचमा दुई–तीन मेल नर्सहरु छन् । नेपालमा मात्रै चेतनाको कमीले पुरुष नर्स कम देखिएका हुन् ।’
खत्रीले अहिले नेपालका अस्पतालहरूमा नर्स अभाव गम्भीर बन्दै गएको बताइन् । उनले भनिन्, ‘धेरै अस्पतालमा दक्ष नर्स पाउन गाह्रो भइरहेको छ । हाम्रो अस्पताल मात्रै होइन, अन्य अस्पतालमा पनि यही समस्या छ ।’
उनका अनुसार कम तलब, सुविधा अभाव र कामको उच्च दबाबका कारण धेरै नर्स विदेश जान बाध्य भइरहेका छन् ।
उनले नर्सहरूले पछिल्लो समय गरेको आन्दोलनको मुख्य कारण पनि उचित पारिश्रमिक भएको जानकारी दिइन् ।
उनले भनिन्,‘अहिले नर्स पाउन धेरै नै गा¥हो भइरहेको छ । हाम्रै हस्पिटलमा अथवा अन्य कुनै हस्पिटलहरुमा पनि नर्सहरु पाउन गार्हो छ । किनकी नर्सहरुले राम्रो तलब, सुविधा जस्ता कुराहरु कम भएका कारणले गर्दा आन्दोलनहरु पनि हुने गरेका छन् । जति मेहेनत वा जति काम गर्नुहुन्छ, सो अनुसार पारिश्रमिक नभएको कारणले गर्दा सबै नर्सहरु सडकमा उत्रिनु परेको छ ।’
यसमा थप्दै उनले भनिन्,‘नर्सहरूले दिनरात नभनी काम गर्छन् । आठ घण्टादेखि १२ घण्टासम्म ड्युटी गर्नुपर्छ । बिरामीको अवस्था हेरेर कहिलेकाहीँ आफ्नो आराम र खाना समेत छाड्नुपर्छ,।’
उनका अनुसार सरकारले तोकेको सेवा–सुविधा सबै निजी अस्पतालले पूर्ण रूपमा कार्यान्वयन नगर्दा नर्सहरू असन्तुष्ट हुने गरेका छन् । ‘सरकारले तलब, नाइट अलाउन्स, हाजार्ड भत्ता लगायतका व्यवस्था गरेको छ । तर सबै संस्थाले प्रभावकारी रूपमा लागू गरेका छैनन् । जहाँ लागू भएको छ, त्यहाँ कर्मचारी केही सन्तुष्ट छन्,’ उनले सुनाइन् ।
नर्स खत्रीले हाल नेपालमा नर्सिङ क्षेत्रमा रोजगारीको अवसर प्रशस्त रहेको पनि उल्लेख गरिन् । तर अवसर भएपनि भविष्य सुरक्षित गर्ने चाहनाले धेरै नर्स विदेशतर्फ आकर्षित भइरहेको उनको धारणा छ ।
अहिले धेरै अस्पतालमा नर्सको माग छ । राम्रोसँग खोज्ने हो भने सजिलै जागिर पाइन्छ,’ उनले भनिन्।
उनका अनुसार दुबई, कतार, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा नेपाली नर्सहरूको आकर्षण बढ्दो छ । यही कारणले नेपालमा दक्ष नर्सको अभाव बढ्दै गएको उनको विश्लेषण छ ।
नर्स अभावले अस्पतालको सेवा गुणस्तरमा समेत असर पर्ने समेत उनको चिन्ता छ । अस्पतालमा कर्मचारी स्थिर नभएर बारम्बार परिवर्तन भइरहँदा सेवाको गुणस्तरमा असर पर्न सक्ने र नयाँ नर्सलाई काम सिकाउन समय लाग्छ उनको भनाइ छ ।
यद्यपि, नर्सिङ पढ्ने विद्यार्थीको संख्या भने अझै धेरै रहेको उनले बताइन् । ‘विद्यार्थीहरू नर्सिङ पढ्न उत्साहित छन् । धेरैले विदेश जाने लक्ष्यसहित पनि पढिरहेका छन्,’उनले भनिन्।
अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा सम्पूर्ण नर्सहरूलाई शुभकामना दिँदै खत्रीले नर्सिङ पेशाप्रति गर्व लागेको बताइन् ।
उनले भनिन्,‘हाम्रो यस्तो पेशा हो, जहाँ हामी बिरामीको पीडालाई आफ्नै पीडा सम्झेर काम गर्छौं । बिरामीलाई खुशी बनाउन, पीडा कम गर्न र सेवा दिन दिनरात खटिरहेका हुन्छौं,’ उनले भनिन् ।
उनले सबै नर्सहरूलाई सेवाभावका साथ कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरिन् ।
त्यस्तै काठमाडौँ क्यान्सर सेन्टरमा विगत चार वर्षदेखि कार्यरत नर्स सरु खाइजूले पनि नर्सिङ पेशाबारे बोल्दै नर्सिङ सेवा र जिम्मेवारी दुवै भएको बताइन् ।
घर र काम दुवैलाई सन्तुलनमा राख्न चुनौती भएपनि नर्सहरूले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । ‘हामी आफैं इन्डिपेन्डेन्ट हौं भनेर यो पेशामा आएका हुन्छौं, तर कामको दबाब र पारिश्रमिकले कहिलेकाहीँ कठिन बनाउँछ,’उनले भनिन्।
उनका अनुसार लामो ड्युटी, डबल सिफ्ट र ओभरटाइमका कारण नर्सहरूलाई व्यक्तिगत जीवन र परिवारलाई समय दिन कठिनाइ हुने गर्छ । विशेषगरी साना बच्चा भएका महिला नर्सहरूलाई अझ बढी चुनौती हुने उनले बताइन् ।
खाइजूले नर्सहरूको सेवा र मेहनतअनुसार तलब तथा सुविधा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उनले भनिन्,‘सरकार र सम्बन्धित निकायले हाम्रो कामअनुसार उचित पारिश्रमिक र सुविधा दिनुपर्छ ।’
उनले धेरै नर्सहरू विदेश जाने सोचमा रहेको उल्लेख गर्दै आफू भने नेपालमै बस्ने चाहना भएपनि अवसर र अवस्थाले प्रभाव पार्ने बताइन् ।
‘नेपालमै राम्रो अवसर र सुविधा भए यहाँ बस्न मन छ, तर अहिलेको अवस्थामा विदेश जाने सोच धेरैमा आउँछ,’ उनले भनिन्।
View : 51
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved