Biratnagar, Morang, Nepal
देश

जवाफदेहिता, समावेशी शासन र सामाजिक न्यायमा जेनजी युवाहरुको जोड

-
अखवारका कुरा
१२ साउन २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । दलित महिला संघ (फेडो) को ३२औँ वार्षिक उत्सवका अवसरमा आयोजित ‘रूपान्तरण र समावेशीकरण ः युवाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी जेन–जी अभियानका अगुवाहरूले जवाफदेहिता, समावेशिता, सुशासन र मानवअधिकारको संरक्षणलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै जेन–जी अगुवा तनुजा पाण्डेले राजनीतिक परिवर्तन केवल शासन फेरिने विषय नभई राज्यको कार्यशैली परिवर्तनसँग जोडिएको बताइन् । जनआन्दोलनबाट नागरिकले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र नागरिकप्रतिको संवेदनशीलता वर्तमान शासनमा कमजोर देखिएको उनको भनाइ थियो ।
हालै सुनसरीमा भएको घटनामा राज्य पक्षबाट भएको बल प्रयोगप्रति प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा संवेदना वा स्पष्ट धारणा व्यक्त नगरेको उल्लेख गर्दै उनले सरकार नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताइन् । गल्ती भए स्वीकार गर्ने राजनीतिक संस्कृतिको विकास आवश्यक रहेको उनको भनाइ थियो ।
पाण्डेले आन्दोलनपछि महिला नेतृत्वमाथि हुने व्यक्तिगत आक्रमण, सामाजिक सञ्जालमा हुने दुव्र्यवहार तथा जातीय र लैङ्गिक विभेदका कारण महिलाहरू सार्वजनिक जीवनमा असहज महसुस गर्न बाध्य भएको बताइन् ।
महिलाभित्र पनि जातीय, भौगोलिक र सामाजिक विविधतालाई ध्यानमा राख्दै अन्तरसम्बन्ध (इन्टरसेक्सनालिटी) को दृष्टिकोणबाट समावेशितालाई अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।
उनले लोकतान्त्रिक आन्दोलनमा महिलाको अग्रणी भूमिका रहे पनि निर्णय गर्ने तहमा महिलाको प्रतिनिधित्व अझै कमजोर रहेको उल्लेख गर्दै समान अवसर सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति लागू गर्नुपर्ने धारणा राखिन् ।
यस्तै, जेन–जी अगुवा माजिद अन्सारीले नेपालमा कानुनी शासन, सुशासन र मानवअधिकारको अवस्था अझै चुनौतीपूर्ण रहेको बताए । कानुनको विद्यार्थीका रूपमा आफूले अध्ययन गरेका सिद्धान्त व्यवहारमा कार्यान्वयन हुनुपर्ने भन्दै उनले न्याय प्राप्तिमा कमजोर वर्गले अझै विभेद र भ्रष्टाचारको सामना गर्नुपरेको अनुभव सुनाए ।
उनले मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको जीवनको अधिकारको संरक्षण राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै हालै सुनसरीमा भएको घटनामा प्रहरीले गोली चलाएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गर्नुको औचित्यबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
अन्सारीले युवाहरूलाई केवल भीड जुटाउने भूमिकामा सीमित राख्ने पुरानो राजनीतिक संस्कृतिमा परिवर्तन आएको उल्लेख गर्दै अहिले युवाले नीति, शासन र सार्वजनिक बहसमा सक्रिय सहभागिता जनाउन थालेको बताए । यद्यपि, राजनीतिक दल र राज्यका निकायहरूमा नेतृत्व चयन तथा नियुक्तिमा अझै पनि सीमित वर्गको प्रभुत्व कायम रहेको उनको आरोप थियो ।
संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशिताको भावना कार्यान्वयनमा कमजोरी देखिएको उल्लेख गर्दै उनले सार्वजनिक नियुक्ति, संवैधानिक आयोग, विश्वविद्यालय तथा अन्य राज्य निकायमा महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व सन्तोषजनक नरहेको बताए ।
उनले ‘मेरिटोक्रेसी’को नाममा समावेशितालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी राज्य संरचनालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले रूपान्तरणकारी नेतृत्व, पारदर्शिता, जवाफदेहिता, सामाजिक न्याय र समावेशी शासन प्रणाली सुदृढ गर्न युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved