Biratnagar, Morang, Nepal
मनोरंजन

प्रेम दिवसमा गुलाफको माग उच्च, विराटनगरमा लाखौंको कारोबार

-
अखवारका कुरा
२ फागुन २०८२, शनिवार

Advertisement

विराटनगर - प्रेम र आत्मीयताको प्रतीक मानिने भ्यालेन्टाइन डेका अवसरमा विराटनगरका फूल पसलहरू बिहानीको घामसँगै खुल्दा नखुल्दै ग्राहकहरु आउन थालेका छन ।

विशेषगरी युवा–युवतीको उल्लेख्य उपस्थितिले बजारको माहोल राम्रो बनेको देखिएको छ ।
व्यवसायीहरूका अनुसार यस वर्ष करिब ६ देखि ७ लाख रुपैयाँसम्मको फूल कारोबार हुने अनुमान गरिएको छ। रातो गुलाफको माग अत्यधिक रहेकाले सिंगल रोजदेखि आकर्षक बुकेसम्मका फूल बिहानैदेखि धमाधम बिक्री भइरहेका छन। केही ग्राहकले एक दिनअघि नै अग्रिम बुकिङ गरेर फूल सुरक्षित गरेका थिए।

स्थानीय व्यापारीहरूका अनुसार बजारमा बिक्री भइरहेका अधिकांश गुलाफ भारतका कलकत्ता, रानाघाट र हावडा लगायत क्षेत्रबाट आयात गरिएका हुन्। भ्यालेन्टाइन डे नजिकिँदै जाँदा मूल्यमा सामान्य वृद्धि भए पनि उत्साहमा कमी नआएको उनीहरूको भनाइ छ।

“बिहान पसल खोलेको बिस्तारै भिड बढ्दै गइरहेको छ। धेरैले रोज नै खोजिरहेका छन ।,” एक व्यवसायीले बताए।

फूलसँगै चकलेट, टेडी बियर, गिफ्ट ह्याम्परजस्ता सामग्रीको व्यापार पनि बढेको छ। मुख्य बजार क्षेत्र, सपिङ सेन्टर र सडक किनारका स्टलहरूमा बिहानैदेखि चहलपहल बाक्लिएको छ ।

व्यवसायीहरू भन्छन्, यस्ता अवसरले मौसमी रूपमा बजारलाई चलायमान बनाउने मात्र होइन, साना उद्यमीलाई पनि उल्लेख्य राहत दिने गरेको छ। प्रेम दिवसको अवसरमा देखिएको यो उत्साहले विराटनगरको बजारमा एकदिनका लागि भए पनि रौनक थपेको छ।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved