विराटनगर — एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै घरेलु टोली सम्राट स्पोर्टिङ क्लब ३८ औँ नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले हराउँदै सम्राट अन्तिम चारमा पुगेको हो।
पहिलो हाफको अन्त्यतिर गोल खाँदा दबाबमा परेको सम्राटले दोस्रो हाफमा लय समात्दै खेल आफ्नो पक्षमा मोड्यो। ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै विर्सामुण्डालाई अग्रता दिलाएका थिए। त्यसअघि र त्यसपछि पनि पाहुना टोलीले आक्रामक खेल देखाएको थियो।
तर, दोस्रो हाफमा सम्राटले आक्रामकता बढायो। ५० औँ मिनेटमा सौरव तामाङको क्रसमा मौसम लिम्बुले बराबरी गोल फर्काएपछि खेलमा सम्राट हावी बन्न थाल्यो। त्यसपछि लगातार दबाब बनाएको सम्राटले अन्तिम समयमा नतिजा आफ्नो पक्षमा पारेको हो।
८६ औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई अग्रता दिलाए। इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल थपेपछि सम्राटको जित सुनिश्चित भयो।
प्रताप तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ११ हजार रुपैयाँ प्राप्त गरे।
सम्राटले जित निकाले पनि अवसर खेर फाल्ने क्रम जारी रह्यो। सौरव तामाङ, कप्तान अशोक खवास र कोमल खवासले पाएका अवसर सदुपयोग गर्न सकेनन्। विर्सामुण्डाले पनि गोलका अवसर सिर्जना गरे पनि त्यसलाई नतिजामा बदल्न सकेन।
जितसँगै सम्राटले फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ आमनेसामने हुनेछन्।
View : 98
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved