Biratnagar, Morang, Nepal
स्थानीय तह

विराटनगर २ मा काङ्ग्रेस बुथ सभापतिका लागि अनुराज पाठकको उम्मेदवारी घोषणा

-
अखवारका कुरा
२६ मंसिर २०८२, शुक्रवार

Advertisement

विराटनगर -  नेपाली कांग्रेस विराटनगर-२ का सक्रिय र लोकप्रिय युवा नेता अनुराज पाठकले वडाको बुथ सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रामा होमिएका पाठक नेतृत्व क्षमता, सरल स्वभाव र मिजासिलो व्यवहारका कारण वडाभरका युवादेखि अग्रजसम्म सबैको भरोशायोग्य नामका रूपमा स्थापित हुँदै आएका छन्।

महेन्द्र मोरङ क्याम्पसबाट नेविसंघको राजनीतिबाट आफ्नो सुरुआत गरेका पाठक नेविसंघ जिल्ला समिति हुँदै पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। वडाभित्रका अब्बल र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्तिबाट सहयोग गर्दै आएको उनको गतिविधि युवामैत्री नेतृत्वको प्रमाण मानिन्छ। अग्रज क्रियाशीलहरूप्रति सम्मानजनक व्यवहार र जेनेरेसन जीका युवासँग नजिकिएर पार्टीमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा नियमित छलफल गर्नु पाठकको पहिचान बनेको छ।

वडामा बाढी, महामारीजस्ता कठिन समयमा पनि पाठक जनतामाझ सहयोगी हात बनेर उभिएका थिए। राहत, सहजीकरण र स्वयंसेवा अभियानमा अग्रपंक्तिमा देखिने पाठक नेपाली कांग्रेस मोरङको युवा तथा खेलकुद विभागका सदस्यसमेत हुन्।

राजनीतिलाई सेवा र जिम्मेवारीको माध्यमका रूपमा लिनुपर्ने मान्यता राख्ने पाठक राजनीतिक पेशेवरहरूले संगठनमा पैदा गरेको विकृतिको विरोधमा आफू दृढतापूर्वक उभिन तयार रहेको बताउँछन्। “जनता सधैं कुशल नेतृत्व खोज्छन्, दुई दिनको नाटक र देखावटी उपस्थितिले विकास रोकिएको छ,” पाठकले भने, “हामी युवाले अगाडि नसरे परिवर्तन कसरी सम्भव हुन्छ? अब जिम्मेवारी लिनु नै हाम्रो कर्तव्य हो।”

सभापति निर्वाचित भए आगामी स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार नबन्ने स्पष्ट संकेत दिंदै उनले वडाको कांग्रेस संगठनलाई बलियो, सक्रिय र प्रतिस्पर्धी बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए।

अनुराज पाठकको उम्मेदवारीसँगै वडामा नयाँ ऊर्जाको युवा नेतृत्व प्राप्त हुने अपेक्षा स्थानीय कार्यकर्ताले व्यक्त गरेका छन्।

View : 830

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved