लियोको नयाँ कार्यकाल सुरु हुँदै
विराटनगर,
लियो जिल्ला परिषद ३२५ सीले आगामी वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमिति घोषणा गरेको छ। केही समयअघि अध्यक्ष पदमा मनोज तिवारी र उपाध्यक्ष पदमा सुजन घिमिरे निर्वाचित भएका थिए । अध्यक्ष तिवारीले विराटनगरको होटल स्वागतममा एक कार्यक्रम आयोजना गरि आफ्नो नेतृत्वमा नयाँ बोर्ड सार्वजनिक गरेका हुन्।
अध्यक्ष तिवारीले सचिवमा प्रवेश बस्ताकोटी, कोषाध्यक्षमा कुलदीप यादव र चिफ एड्भाइजरमा लायन्सका वरिष्ठ नेता इन्द्र खत्री ‘राजन’लाई मनोनयन गरेका छन्। साथै, परिषदका अन्य आवश्यक विभिन्न पदहरूमा पनि योग्य र अनुभवी सदस्यहरूलाई जिम्मेवारी वितरण गरिएको छ।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा सामाजिक सेवा, युवा सशक्तीकरण, नेतृत्व विकास, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, रक्तदान, मानसिक स्वास्थ्य र उद्यमशीलता जस्ता महत्वपूर्ण क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। अध्यक्ष तिवारीले “संगठनलाई अझ सबल र प्रभावकारी बनाउन सबै सदस्यहरूको सक्रिय सहभागिता र पारदर्शितामा जोड दिने” बताए।
चिफ एड्भाइजर खत्रीको लामो अनुभव र मार्गदर्शनले परिषदलाई रणनीतिक योजना निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। नयाँ बोर्ड घोषणा भएपछि लियो जिल्ला परिषद अन्तर्गतका विभिन्न लियो क्लबहरूमा उत्साह देखिएको छ।
परिषदले निकट भविष्यमा विभिन्न तालिम, जनचेतनामूलक अभियान र सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेको छ। विगतमा पनि लियो जिल्ला परिषद ३२५ सीले सामाजिक सेवा र जनचेतनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। नयाँ नेतृत्वसँगै यस वर्षका कार्यक्रमहरूलाई अझ प्रभावकारी र दिगो बनाउने लक्ष्य राखिएको छ।
View : 767
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved