Biratnagar, Morang, Nepal
सामाजिक सेवा

५१ पिन्ट रगत संकलन गर्दै शान्तिचोक युवा समूहको सन्देश : ‘रक्तदान नै जीवनदान’

-
अखवारका कुरा
२८ असार २०८३, आइतवार

Advertisement

विराटनगर:  रगत अभावका कारण उपचाररत बिरामीले समयमै रगत नपाउने समस्या न्यूनीकरण गर्ने उद्देश्यले शान्तिचोक युवा समूहले विराटनगर–१, शान्तिचोकमा आयोजना गरेको बृहत् खुला रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ।

'रक्तदान जीवनदान' भन्ने सन्देशसहित आयोजित कार्यक्रममा ५१ जना स्वेच्छिक रक्तदाताले रक्तदान गरेका हुन्। संकलित रगतले आपत्कालीन उपचार आवश्यक परेका बिरामीहरूको जीवन बचाउन सहयोग पुग्ने विश्वास आयोजकको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, मोरङ शाखाका सभापति सुखदेव प्रसाद मण्डलले रक्तदानलाई मानवताको सर्वोच्च सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न आग्रह गरे। युवाको अग्रसरताले समाजमा सेवाभाव र जिम्मेवारीको संस्कार विकास हुने उनको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालले समाजसेवा भाषणमा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए। रक्तदानजस्ता अभियानले मानवीय संवेदनालाई बलियो बनाउनुका साथै सामाजिक एकता र सहकार्यको संस्कारलाई पनि मजबुत बनाउने उनले उल्लेख गरे।

शान्तिचोक युवा समूहका अध्यक्ष सन्तोष महत (स्यान्ट्रो) ले रगत अभावकै कारण कुनै बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। आगामी दिनमा पनि रक्तदानसहित समाजहितका विभिन्न रचनात्मक र मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रमको सुरुवातमा समूहका सचिव गोविन्द श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए। रक्तदाताका लागि रिफ्रेस डाइट तथा आर्थिक सहयोग उपलब्ध गराएको Sunshine Secondary English Boarding School का प्रधानाध्यापक रुद्रप्रसाद रिजालप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ।

कार्यक्रममा विराटनगर महानगरपालिका–१ का वडा सदस्य सुशील गुभाजु र खुस्बु बिक, समाजसेवी कृष्ण कार्की र राजन न्यौपाने, समूहका संरक्षक लल्कु सहनी, नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मी, शान्तिचोक युवा समूहका पदाधिकारी, सदस्य तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा आयोजकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा विशेषगरी अमूल्य रगत दान गर्ने ५१ जना रक्तदाताप्रति आभार व्यक्त गर्दै यस्ता अभियानले समाजमा मानवता, सहयोग र जीवनप्रतिको जिम्मेवारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

View : 76

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved