तेली समाजको महिला सम्मान
विराटनगर, २०८१ चैत्र ३० गते
तेली कल्याण समाज नेपाल , जिल्ला कार्यसमिति मोरङको आयोजनामा विराटनगरस्थित एलिट क्लबमा एक भव्य महिला सम्मान कार्यक्रम–२०८१ तथा नयाँ वर्ष २०८२ को क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा तेली समुदायमा सामाजिक, शैक्षिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याउने महिलाहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले महिला सशक्तीकरण समाजको समुन्नत भविष्यका लागि अत्यन्त आवश्यक भएको उल्लेख गर्दै, यस्ता सम्मान कार्यक्रमहरूले महिलामा आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसै अवसरमा तेली कल्याण समाज नेपाल, मोरङले तयार पारेको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि औपचारिक रूपमा विमोचन गरिएको थियो। क्यालेन्डर विमोचन कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले समाजले संस्कृति, परम्परा र सामाजिक जागरणलाई जोड दिँदै आएको पहलको प्रशंसा गरेका थिए।
कार्यक्रमको अध्यक्षता तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा. बालकृष्ण साहले गर्नुभएको थियो। उहाँले महिलाको योगदानलाई सम्मान गर्नु समाजको कर्तव्य हो भन्दै यस्ता कार्यक्रममार्फत समुदायको एकता र प्रेरणा सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा तेली समाजबाट समाजमा योगदान पुर्याउने २१जना महिलालाई सम्मान गरिएको थियो भने २२ जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
समारोहमा समाजका अन्य पदाधिकारी, विशिष्ट अतिथि, स्थानीय अगुवा, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम स्वागत मन्तव्य, सम्मान वितरण, मन्तव्यहरू, सांस्कृतिक प्रस्तुति र क्यालेन्डर विमोचन जस्ता विविध कार्यक्रमसहित सम्पन्न भएको थियो।
तेली कल्याण समाज नेपालले आगामी दिनहरूमा पनि महिला सशक्तीकरण, सामाजिक सेवा तथा सांस्कृतिक चेतनाका क्षेत्रमा अझ सशक्त रूपमा अग्रसर हुने प्रतिबद्धता जनाएको कार्यक्रम संयोजक ऋषिराज सेठले जानकारी दिए ।
View : 332
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved