लर्ड बुद्ध कलेज
विराटनगर — विराटनगरस्थित लर्डबुद्ध कलेजले शनिबार ‘फेरि भेटौँला’ कार्यक्रमको आयोजना गरी कक्षा १२ र बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाइ तथा एमबिएस प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत गरेको छ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख विनोद भण्डारीले कलेजले ऐतिहासिक विरासतलाई कायम राख्दै उत्कृष्ट नतिजा दिँदै अघि बढिरहेको बताए। ‘नयाँ व्यवस्थापनले कलेजलाई अझै उचाइमा पुर्याउन लागि परेको छ,’ उनले भने। उनका अनुसार, लर्डबुद्ध कलेजले हजारौं विद्यार्थी उत्पादन गरेर राष्ट्र निर्माणमा योगदान पुर्याइरहेको छ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंले रोजगारमुखी शिक्षाको आवश्यकता औंल्याउँदै विद्यार्थीलाई सिद्धान्त र व्यवहारिक ज्ञान दुवैमा दक्ष बन्न आग्रह गरे।
कलेजका अध्यक्ष पप्पु अन्सारीले कलेजले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको उल्लेख गरे। ‘विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन हामी विशेष पहल गरिरहेका छौँ,’ उनले भने।
विदाई हुने विद्यार्थीहरुले कलेजमा सिकेका अनुभव बाँड्दै आगामी जीवनका लागि शुभकामना आदानप्रदान गरे भने नयाँ विद्यार्थीहरुले कलेजको वातावरणसँग परिचित हुने अवसर पाएका थिए।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत लगायतका सांस्कृतिक प्रस्तुति दिए। कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको कलेजले जनाएको छ।
View : 616
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved