शार्क ट्याङ्क नेपाल
काठमाडौं, श्रावण २
शार्क ट्याङ्क नेपालको पहिलो सिजन अन्तर्गत बिहीबार प्रसारण भएको छैठौं एपिसोडमा दुई स्टार्टअपले लगानी डिल पाउन सफल भएका छन्। सरसफाइ सेवा दिने ओरेन्ज बल प्रालि र सांस्कृतिक खेल सामग्री उत्पादन गर्दै आएको अल्छि पसलले गरी कुल २ करोड रुपैयाँको लगानी पाएका हुन्।
ओरेन्ज बलले सुरुमा १० प्रतिशत सेयर साटफेरमा १ करोड रुपैयाँको प्रस्ताव राखेको थियो। शार्क सौरभ ज्योतिले व्यवसायको सम्भाव्यता पहिचान गर्दै १५ प्रतिशत सेयरमा १ करोड रुपैयाँ लगानी गर्न सहमति जनाएका हुन्। कम्पनीले शहरी क्षेत्रमा कीट नियन्त्रण, सरसफाइ तथा फमिगेसन सेवा दिँदै आएको छ।
उता, नेपाली कला, संस्कृति र इतिहास झल्किने बोर्ड गेम उत्पादन गर्दै आएको अल्छि पसलले भने २५ प्रतिशत इक्विटीमा १ करोड र ५० लाख रुपैयाँ ऋण स्वरूप लगानी माग गरेको थियो। शार्क क्याबिनेट श्रेष्ठले उक्त प्रस्तावमा चासो देखाउँदै सम्झौता गरेका हुन्। ऋण नतिर्दासम्म लगानीमा पनि नाफा लिने प्रावधान सहित डिल भएको हो।
छैठौं एपिसोडमा प्रस्तुत भएका अन्य दुई स्टार्टअप इन्क्सभिल्ला र मराम्चे अर्ग्यानिक कृषि फार्म लगानी पाउन असफल रहे। इन्क्सभिल्लाले डेढ करोड रुपैयाँको प्रस्ताव राखेको थियो भने मराम्चेले ३० लाख रुपैयाँ लगानी माग गरेको थियो। तर, शार्कहरूले उनीहरूको व्यापारिक मोडलप्रति विश्वास देखाएनन्।
शार्क ट्याङ्क नेपाल सिजन १ ले नेपाली उद्यमशीलता र नवप्रवर्तनलाई नयाँ ऊर्जा दिइरहेको छ। प्रत्येक एपिसोडमा फरक–फरक क्षेत्रका व्यवसायले शार्कहरूसामु आफ्ना योजना प्रस्तुत गर्छन्, लगानीका लागि बार्गेनिङ गर्छन्। लगानीभन्दा पनि व्यवसायिक सोच र प्रस्तुतीकरणका आधारमा सफलता नापिने यो शो नेपाली स्टार्टअप परिदृश्यका लागि गहिरो सन्देश बोक्दछ।
छैठौं एपिसोडले एकातर्फ व्यावसायिक सम्भावना भएका योजनाहरूले शार्कहरूको विश्वास जित्न सक्ने देखायो भने अर्कातर्फ तयारी कमजोर हुँदा लगानी गुम्न सक्ने यथार्थ पनि उजागर गर्यो।
View : 103
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved