Biratnagar, Morang, Nepal
राजनीति

कसैको इतिहास मेट्न होइन सबैको सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न खोजेका हौं : महामन्त्री पौडेल

-
अखवारका कुरा
२९ वैशाख २०८३, मङ्गलवार

Advertisement

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कसैको इतिहास मेट्न नभै सबैको इतिहास सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न थालिएको बताएका छन् । 

सुर्खेतमा आयोजित कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा स्थानीय तह केन्द्रीत प्रशिक्षणमा सम्बोधन गर्दै सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका उनले पहिल्यै सदस्यता लिएकाहरूले इतिहास मेट्न खोजेकोमा सशंकित नहुन आग्रह गरे । 

‘एक अग्रज नेताले बिपीबाट लिएको सदस्यताको इतिहास मेट्न खोजिएको भनेर अन्तरवार्ता दिनुभएको सुनें,’ उनले भने, ‘म उहाँलाई आदरपूर्वक आग्रह गर्न चाहन्छु । तपाईँको इतिहास मेट्न होइन सुरक्षित गर्न खोजेका हौँ ।’

इतिहास कसैले नबिर्सने गरी डिजिटल कृत गरिने उनले बताए । महामन्त्री पौडेलले देशमा चुनाव लडेको १६५ मध्ये १७ क्षेत्रमा क्रियाशील सदस्य बराबर मत समेत पाउन नसकिएको भन्दै यस आधारमा क्रियाशिललालाई नयाँ ढंगबाट अद्यावधिक गर्न जरुरी ठानेको बताए ।
 
‘यसपाली चुनावमा पहिले जति आमसमा भएन, जुलुश भएन, फोटो टाँसिएन । तर प्रचारै नगरी कसैले चुनाव जितेको होइन । फेरिएको प्रचारको तरिका हामीले त्यो आत्मसाथ गर्न सकेनौँ,’ उनले भने,‘हिजोको शैलीले प्रचार गरेर जित्न सकिँदैन भनेरै सदस्यलाई डिजिटल फ्रेममा आबद्ध गर्न खोजेका हौँ ।’

अद्यावधिक गर्दा नबनेका सदस्यलाई बनाउन नखोजिएको र एकलौटी रूपमा मनपरी गर्न पनि नखोजेर भएको इतिहास सुरक्षित गर्न खोजेको उनले बताए । 

उनले अबको डिजिटल प्रणालीका सदस्यले नीतिगत परिवर्तनका सवालमा पार्टी र नेतृत्वलाई सिधै प्रविधिका माध्यमबाट सुझाव दिन सक्ने उनले बताए । 

‘जरालाई केन्द्र र केन्द्रलाई जरासँग जोड्न सदस्यता अभियान अघि बढाएका हौँ,’ उनले भने,‘यसले पार्टीलाई वैचारिक पक्षबाट सबै सदस्यलाई जोड्छ । सदस्य भएकोमा गर्व गर्ने बनाउँछ ।’ 

स्थानीय र प्रदेश निर्वाचन नजिक रहेको भन्दै उनले भने, ‘यो अघि सदस्यता अद्यावधिक गर्न सके सबै सदस्यलाई पार्टीका उम्मेदवार जिताउन सक्रिय बनाउन सक्छौँ ।’

View : 53

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved