सस्तोमा सेवा दिदै गोल्डेन
विराटनगर, असार २७— विराटनगरको गोल्डेन हस्पिटलले शल्यक्रिया सेवामा विशेष सहुलियत दिने योजना सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर अस्पतालले विभिन्न शल्यक्रिया सुरक्षित, सहज र किफायती दरमा उपलब्ध गराउने घोषणा गरेको हो।
अस्पतालका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारका अनुसार लामो समयदेखि उपचार पर्खिरहेका बिरामीलाई लक्षित गर्दै योजना ल्याइएको हो। उनका अनुसार हाइड्रोसिल र एपेन्डिक्सको शल्यक्रिया १९ हजार ९९९ रुपैयाँमा, सिजेरियन डेलिभरी १५ हजार रुपैयाँमा र सामान्य डेलिभरी ४ हजार ९९९ रुपैयाँमा गरिनेछ।
शल्यक्रियामा १० देखि १५ वर्षको अनुभव भएका विशेषज्ञ चिकित्सकहरू संलग्न हुने अस्पतालले जनाएको छ। साथै, ५ वर्षमुनिका बालबालिकालाई सम्पूर्ण सेवामा २५ प्रतिशत र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
डा. रौनियारले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै अस्पतालले नाफाभन्दा मानव सेवा प्राथमिकतामा राखेको बताए। मातृ तथा शिशु मृत्युदर घटाउने, गुणस्तरीय र पहुँचयोग्य सेवा सुनिश्चित गर्ने र झन्झटिलो प्रक्रिया हटाउने उद्देश्यले योजना ल्याइएको उनले बताए।
‘तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित पूर्वी नेपाल मात्रै होइन, देशभरका बिरामीलाई लक्षित गर्दै सेवा दिइएको अस्पतालले जनाएको छ। आगामी दिनमा थप जनमैत्री सेवाहरू सञ्चालन गर्ने प्रतिबद्धता पनि अस्पतालले व्यक्त गरेको छ।
View : 220
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved