ग्रीनल्याण्ड स्काउट ट्रुपको विन्टर क्याम्प
विराटनगर । ग्रीनल्याण्ड स्काउट ट्रुपद्वारा आयोजित दुईदिने विन्टर क्याम्प बालबालिका तथा युवाहरूको चरित्र निर्माण र नैतिक विकासतर्फ केन्द्रित रहँदै सम्पन्न भएको छ। क्याम्पको प्रमुख अतिथिका रूपमा सहभागी कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्कीले स्काउट आन्दोलनलाई अनुशासन, सेवाभाव र राष्ट्रप्रेम सिकाउने प्रभावकारी विद्यालयको रूपमा चित्रित गर्नुभयो।
क्याम्प उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले आजको पुस्तालाई किताबी ज्ञानसँगै जीवनोपयोगी सीप, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले स्काउट कार्यक्रमले बालबालिका र युवाहरूलाई आत्मअनुशासित, निर्णयक्षम र समाजप्रति उत्तरदायी नागरिक बनाउने आधार तयार गर्ने बताउनुभयो। “स्काउट भनेको केवल गतिविधि मात्र होइन, चरित्र निर्माणको बलियो माध्यम हो,” कार्कीको भनाइ थियो।
मंसिर २६ र २७ गते आयोजना गरिएको क्याम्पमा ३२ जना विद्यार्थी स्काउट तथा २५ जना रोभर रेंजरहरूको सक्रिय सहभागिता रहेको थियो। क्याम्प अवधिभर नेतृत्व विकास, टोलीभावना, आत्मअनुशासन, सेवाभाव र सामाजिक जिम्मेवारीबोधसम्बन्धी व्यवहारिक तालिम प्रदान गरिएको थियो। सहभागीहरूका लागि शैक्षिक खेल, समूहगत अभ्यास, अनुशासन तथा नैतिक मूल्यमा आधारित गतिविधिहरू सञ्चालन गरिएका थिए।
कार्यक्रममा राष्ट्रिय प्रशिक्षकहरू दिवश राजबंशी, प्रदीप कुमार विश्वास र राजाराम घिमिरेको विशेष सहभागिता रहेको थियो भने सामुदायिक विकास आयुक्त सुदर्शन प्रसाद भट्टराई लगायत अन्य स्काउटका नेतृत्वहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
स्काउट मास्टर अजय मण्डल, रोभर लिडर धिरेन शाह तथा क्याम्प संयोजक अच्युत निरौलाको नेतृत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
क्याम्प संयोजक अच्युत निरौलाले प्रमुख अतिथि कार्कीको उपस्थितिले विद्यार्थीहरूमा थप प्रेरणा र उत्साह बढाएको उल्लेख गर्दै स्काउट कार्यक्रमले अनुशासन, नेतृत्व र सेवाभाव विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
ग्रीनल्याण्ड स्काउट ट्रुपले नेपाल स्काउटको मर्मअनुसार चरित्र निर्माण र राष्ट्रप्रेम अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
View : 726
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved