नयाँ दिल्ली — अहमदाबाद विमान दुर्घटनाको करिब एक महिनापछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। भारतीय विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले शुक्रबार सार्वजनिक गरेको १५ पृष्ठ लामो प्रतिवेदनअनुसार टेकअफको केही सेकेन्डमै दुबै इन्जिन बन्द भएका कारण दुर्घटना भएको पाइएको छ।
जुन १२ मा अहमदाबादबाट लन्डनका लागि उडेको एयर इण्डिया फ्लाइट एआई–१७१ विमान केही बेरमै मेडिकल होस्टेलको भवनमा ठोक्किँदा २४१ यात्रु र चालकदलका सदस्यसहित २७० जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा केवल एक जना यात्रु जीवित रहेका थिए।
प्रतिवेदनअनुसार विमानका दुबै इन्जिन उडानको सुरुमै एक–एक गरेर बन्द भएका थिए। ककपिट रेकर्डिङमा पाइलटहरूबीचको संवाद उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख छ, ‘एक पाइलटले अर्कोलाई सोधेका थिए — “तिमीले इन्जिन बन्द गर्यौ?” जवाफमा अर्कोले भनेका थिए — “मैले त होइन।”’
दुबै इन्जिन बन्द भएसँगै विमानको इन्धन आपूर्ति रोकिएको र इन्धन कटअफ स्विचहरू एक सेकेन्डको अन्तरालमा सक्रिय भएको प्रतिवेदनमा उल्लेख छ। इन्जिन बन्द भएसँगै विमानमा आपतकालीन अवस्थामा प्रयोग हुने ‘राम एयर टर्बाइन’ (आरएटी) सक्रिय भएको पनि पाइएको छ।
आरएटी विमानको बाहिर निस्कने र हावाको गतिमा घुम्ने सानो प्रोपेलरजस्तो उपकरण हो, जसले आपतकालमा पनि बिजुली र हाइड्रोलिक पावर आपूर्ति गर्न सहयोग गर्छ। मुख्य शक्ति नहुँदा वा हाइड्रोलिक प्रणाली असफल हुँदा यसले विमानलाई कम्तिमा पनि नेभिगेसन र नियन्त्रण प्रणाली सञ्चालनमा राख्न मद्दत गर्छ।
अहिलेसम्म दुर्घटनाको अन्तिम निष्कर्ष भने सार्वजनिक भएको छैन। विस्तृत अनुसन्धान जारी रहेको एएआईबीले जनाएको छ।
View : 162
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved