घटना भएको घर
विराटनगर । मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरेर ज्वाईं फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा आफ्नै घरभित्र शनिबार बिहान ६० वर्षीय चन्द्रबहादुर तामाङको बीभत्स शव फेला थियो । हत्या गरिएको अवस्थामा बिहान ७ः२० बजेतिर शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको हो ।
मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु छन् । दाहालका अनुसार शवनजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा पनि फेला परेको छ । खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरिएको हुनसक्ने डीएसपी दाहालको भनाइ छ ।
स्थानीयले घटनाको जानकारी दिएलगत्तै दाहाल नेतृत्वको प्रहरी घटनास्थल पुगेको थियो । डीएसपी दाहाल आफैं खटिएर घटनाको अनुसन्धान गरिरहेका छन् । घटनास्थल पथरी बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ । आफ्नै घरभित्र चन्द्रबहादुरको बीभत्स शव फेला परेपनि उनका छोरी ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार छन् । ससुराको हत्या गरेर उनी भागेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले रविनको खोजी तीव्र बनाएको छ ।
रविन ससुराली घरमा बस्दै आएको खुलेको छ । घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएको प्रहरीको भनाइ छ । रविनको घर पनि ससुराली घरनजिकै छ । चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । दुवै जना (ज्वाईं ससुरा) शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘ज्वाईं र ससुराले सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन् । गयराति पनि मदिरा सेवन गरेको पाइयो,’ दाहाल भन्छन्, ‘मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने देखिन्छ । यद्यपि, रविन फेला नपरेका कारण घटनाका बारेमा स्पष्ट भइसकेको छैन ।’ उनका अनुसार चन्द्रबहादुर र रविन दुवै जना ज्यामी काम गर्थे ।
कानुनी प्रक्रिया पूरा गरेर घटनस्थलबाट शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 148
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved