विराटनगर । नेपाली काङ्ग्रेस मोरङ जिल्ला क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर ४ का काङ्ग्रेस बुथ समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण तथा चुनावी गतिविधिलाई व्यवस्थित बनाउने निर्णय गरेको छ।
बुथ समितिको बैठकले वडा समिति सभापति राजकुमार तबदारको संयोजकत्वमा ५४८ सदस्यीय मूल प्रचार-प्रसार समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिले भातृ संगठन र शुभेच्छुक संगठनलाई समेत समेट्दै टोल-टोल र घर-घरमा पुगेर काङ्ग्रेसको नीति, कार्यक्रम र चुनावी एजेन्डा मतदातासमक्ष पुर्याउने जनाएको छ।
त्यसैगरी, चुनावी परिचालनलाई प्रभावकारी, पारदर्शी र अनुशासित बनाउन महाधिवेशन प्रतिनिधि देबेन्द्र पोखरेलको संयोजकत्वमा २१ सदस्यीय अनुगमन समिति गठन गरिएको छ। अनुगमन समितिले प्रचार-प्रसार तथा संगठन परिचालनका गतिविधिलाई समन्वय गर्दै नियमित मूल्याङ्कन गर्ने बताइएको छ।
चुनावी सन्देश प्रवाह तथा सूचना व्यवस्थापनका लागि पत्रकार बेदराज पौडेलको संयोजकत्वमा ५ सदस्यीय सञ्चार समिति पनि गठन गरिएको छ। सञ्चार समितिले प्रचार सामग्री, सूचना सम्प्रेषण र मिडिया समन्वयको जिम्मेवारी लिनेछ।
बैठकमा सहभागी काङ्ग्रेस नेताहरू तथा कार्यकर्ताहरूले फागुन २१ को प्रतिनिधिसभा चुनावलाई पार्टीका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै पार्टीभित्र एकता कायम गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले डाक्टर शेखर कोइरालालाई विजयी गराउन सबै संरचना एकताबद्ध रूपमा परिचालन गर्ने निर्णयसमेत गरेका छन्।
काङ्ग्रेस बुथ समितिले आगामी दिनमा जनसम्पर्क कार्यक्रम, टोलसभा तथा मतदाता भेटघाटलाई प्राथमिकतामा राख्दै चुनावी परिचालनलाई तीव्र बनाउने जनाएको छ।
View : 84
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved