विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आगामी मे १ (वैशाख १८ गते) 'विराटनगर रन २.०' आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा हुन लागेको यस कार्यक्रममा म्याराथन, सांगीतिक कन्सर्ट र स्वास्थ्य शिविर एकसाथ सञ्चालन हुँदैछ।
नोबेल क्यान्सर अस्पतालको मुख्य प्रायोजन र ओली एण्ड एसोसिएट्स विराटनगरको सहकार्य रहेको यस कार्यक्रम अन्तर्गतको दौड नोबेल अस्पतालको प्रांगणबाट सुरु भई सहिद रंगशालामा पुगेर समापन हुनेछ। त्यसैगरी, लोकप्रिय गायिका रचना रिमालको लाइभ कन्सर्ट नोबेल अस्पतालकै प्रांगणमा हुनेछ। आयोजकका अनुसार दौडको टिकटलाई नै कन्सर्टको आधिकारिक 'इन्ट्री पास' मानिनेछ।
कार्यक्रम स्थलमै पाठेघरको मुख र कोलोरेक्टल क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन हुनेछ। यसका अतिरिक्त ट्राईसाइकल रेस र आर्म रेस्लिङ प्रतियोगिता पनि कार्यक्रमका थप आकर्षण हुन्।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी का जिल्ला अध्यक्ष मनोज तिवारीले युवालाई सकारात्मक दिशामा प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, "यो केवल दौड वा कन्सर्ट मात्र होइन, यो स्वास्थ्य, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई जोड्ने एउटा सशक्त अभियान हो।"
पुरस्कार र टिकट:
प्रतियोगितामा खुला र विद्यार्थी गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. २५ हजार, ११ हजार र ६ हजार तथा विद्यार्थी तर्फ क्रमशः रु. ११ हजार, ६ हजार र ३ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
कार्यक्रममा सहभागी हुन खुला विधालाई रु. ४०० र विद्यार्थीलाई रु. २०० को टिकट तोकिएको छ। टिकट सन्सारी माईस्थानस्थित ओली एण्ड एसोसिएट्सको कार्यालयबाट खरिद गर्न वा अनलाइनबाटै दर्ता गर्न सकिनेछ।
विस्तृत जानकारीका लागि: ९८६२९३६९४०
View : 55
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved