Biratnagar, Morang, Nepal
राजनीति

प्रतिनिधिसभा निर्वाचन

दिनेशचन्द्र थपलियाद्वारा ‘निराधार आरोप’को कडा खण्डन

‘सत्यको पक्षमा उभिनु हाम्रो साझा दायित्व, कानुनी उपचारमा पछि हट्दिन’
-
अखवारका कुरा
१५ फागुन २०८२, शुक्रवार

Advertisement

काठमाडौं - डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले आफूविरुद्ध अनलाइन पोर्टल रातोपाटीमा प्रकाशित समाचारप्रति तीव्र आपत्ति जनाउँदै त्यसलाई पूर्णतया निराधार, भ्रामक र नियोजित दुष्प्रचारको संज्ञा दिएका छन्।


समाचारमा उनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधिमा संलग्न भई पार्टी सभापति गगनकुमार थापालाई निर्वाचनमा पराजित गराउने षड्यन्त्रमा भूमिका खेलेको आरोप लगाइएको थियो। थपलियाले यी सबै आरोप कपोलकल्पित र तथ्यहीन भएको दाबी गरेका छन्।

जिम्मेवार पदमा सत्यनिष्ठा कायम
विज्ञप्तिमा थपलियाले स्पष्ट पारेका छन् कि उनले सधैं संगठनको मूल्य, मान्यता, विधि र अनुशासनको सम्मान गर्दै जिम्मेवारी निर्वाह गरेका छन्।
“नेतृत्व र पार्टीको प्रतिष्ठामा आँच ल्याउने कुनै गतिविधिमा संलग्न हुनु मेरो पेशागत धर्म र व्यक्तिगत चरित्रविपरीत छ,” उनले भनेका छन्।

उनले जोड दिएका छन् कि स्वकीय सचिवको हैसियतमा संगठन र नेतृत्वप्रति निष्ठा कायम राख्नु नै उनका सबै निर्णयको मूल आधार हो।


नाम जोडिएका व्यक्तिसँग कुनै सम्बन्ध छैन
समाचारमा कथित रूपमा नाम जोडिएका व्यक्तिहरूसँग उनको कुनै भेटघाट, संवाद वा सहकार्य नभएको थपलियाले स्पष्ट पारेका छन्।


“मलाई नचिनेका व्यक्तिहरूसँग जोडेर आरोप लगाउनु गम्भीर गैरजिम्मेवारी हो। यसले मेरो व्यक्तिगत प्रतिष्ठा मात्र नभई संगठनको साखमाथि पनि गम्भीर असर पुर्‍याउँछ।”
संवेदनशील राजनीतिक अवस्था र प्रभाव
थपलियाले यस्ता अपुष्ट समाचारले संवेदनशील राजनीतिक घडीमा जनविश्वास कमजोर पार्ने, संगठनभित्र अविश्वास फैलाउने र लोकतान्त्रिक अभ्यासमा नकारात्मक असर पुर्‍याउने उल्लेख गरेका छन्। उनले सञ्चारमाध्यमलाई तथ्य पुष्टि नगरी प्रकाशित सामग्रीले सिर्जित भ्रम र दुष्प्रचारबाट जोगिन आग्रह पनि गरेका छन्।


कानुनी उपचार खोज्ने चेतावनी 
थपलियाले प्रकाशित अडियो सामग्रीको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउने तयारी भइरहेको र आवश्यक परे कानुनी उपचार खोज्न पछि नहट्ने चेतावनी दिएका छन्।


“व्यक्तिगत प्रतिष्ठा र सत्यको रक्षा गर्न कानुनी प्रक्रिया अपनाउन म बाध्य हुनेछु।”


उनले  पार्टीका सबै नेता कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई अपुष्ट र भ्रमपूर्ण समाचारप्रति सचेत रहन आग्रह गर्दै भनेका छन्:“सत्य अन्ततः उजागर हुन्छ, र सत्यको पक्षमा उभिनु नै हाम्रो साझा जिम्मेवारी हो।”

View : 116

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved