पुर्वको सान , विराटनगरको रथयात्रा
विराटनगर, साउन १३
विराटनगरको ऐतिहासिक एवं धार्मिक परम्परालाई उजागर गर्ने श्री राधाकृष्ण रथयात्रा यस वर्ष ९४औं संस्करणमा प्रवेश गर्दैछ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट, भदौ १ गते आइतबार आयोजना हुने यो रथयात्रा एशियाकै दोस्रो ठूलो रथयात्राका रूपमा समेत चिनिन्छ।
वि.सं. १९८८ मा धर्मप्रेमी पं. इन्द्रलाल भट्टद्वारा स्थापना गरिएको श्री राधाकृष्ण मन्दिरबाट सुरु भएको यो धार्मिक परम्परा वि.सं. २०२५ देखि स्व. भूपालमान सिंह कार्की र स्व. सत्यनारायण धनावतको पहलमा निर्मित भव्य रथमार्फत औपचारिक रूपमा निरन्तर जारी छ।
नयाँ रथ, ऐतिहासिक यात्रा
यस वर्ष नवनिर्मित २९ फिट ३ इन्च अग्लो, १४ फिट चौडा र १५ फिट लामो आकर्षक रथमा भगवान श्री राधाकृष्णलाई आरूढ गराई नगर परिक्रमा गराइनेछ। रथयात्रा पानीटंकी मन्दिरबाट प्रारम्भ भई मेनरोड, ट्राफिक चौक, महेन्द्र चौक, धरान रोड, वरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा समापन हुनेछ।
१६५ फिट लामो डोरी, भक्तजनको सहभागिता रह्ने
रथ तान्न दुईवटा १६५ फिट लामो डोरी राखिएको छ, जसमा पुरुष र महिलाले अलग-अलग तर्फबाट समर्पणपूर्वक तान्नेछन्। रथको अग्रभागमा विभिन्न धर्म, जात र संस्कृतिको प्रतिनिधित्व गर्ने झाँकी, नाचगान, र भजनमण्डली रहनेछ, जसले लगभग ३ किलोमिटर दूरी ओगट्नेछ।
५ लाखभन्दा बढी भक्तजनको सहभागिता, ४४ विश्राम स्थल
मन्दिर कार्य समितिका अनुसार यस वर्षको यात्रामा ५ लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। भक्तजनहरूका सुविधालाई ध्यानमा राख्दै ८ किलोमिटरको यात्रामा ४४ विश्रामस्थल तोकिएका छन्। जहाँ बाट भक्तजनले सहज रुपमा पुजा गर्न पाउने छन ।
१००१ सदस्यीय मूल समिति, १६ उपसमिति सक्रिय
यात्राको व्यवस्थापनलाई सुदृढ बनाउन मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीको नेतृत्वमा १००१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। साथै सुरक्षा, यातायात, सरसफाइ, स्वास्थ्य, आपतकालीन सेवा लगायतका व्यवस्थाका लागि १६ वटा उपसमितिहरू परिचालित छन्।
सहकार्य र समन्वयमा उदाहरणीय एकता
कोशी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, विराटनगर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, विभिन्न धार्मिक संघसंस्था तथा व्यापारी संघसंस्थाहरूको सहकार्यमा रथयात्रालाई व्यवस्थित, सुरक्षित र गरिमामय बनाउन तयारी अन्तिम चरणमा पुगेको छ।
शान्तिपूर्ण, भव्य र सांस्कृतिक विविधताले भरिएको यो रथयात्रा विराटनगरवासीको आस्था र एकताको प्रतिक हुने विश्वास आयोजकले लिएका छन्।
View : 67
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved