विराटनगर । सामाजिक एकता, युवा सशक्तीकरण, स्वास्थ्य सचेतना तथा समाजसेवामूलक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको शान्तिचोक युवा समूहको उद्घाटन तथा पदस्थापन कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
विराटनगर–१ स्थित शान्तिचोकमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रम समूहका अध्यक्ष सन्तोष महत (स्यान्ट्रो)को अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेश उप्रेती, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कबित कट्वाल, विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजी बस्नेत, समाजसेवी कृष्ण कार्की, राजन न्यौपानेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय अगुवाको उपस्थिति रहेको थियो। समूहका सचिव गोविन्द श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
करिब ३०० घरपरिवारका प्रतिनिधि, महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले युवाको सक्रिय परिचालनमार्फत सामाजिक सद्भाव, मानव सेवा तथा समुदाय विकासका अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रमुख अतिथि स्वास्थ्य मन्त्री लिम्बुले समाज विकास, स्वास्थ्य सचेतना र नेतृत्व विकासमा युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै शान्तिचोक युवा समूहले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अन्य वक्ताहरूले पनि संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक सेवा, वातावरण संरक्षण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
कार्यक्रममा संस्थाको उद्देश्य तथा भावी कार्ययोजनाबारे जानकारी गराइएको थियो। समूहले योग तथा स्वास्थ्य सचेतना, युवा क्षमता विकास, सामाजिक सेवा, वातावरण संरक्षण, विपन्न तथा असहाय समुदायलाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
समूहले समुदायमा सुरक्षा तथा सचेतना अभिवृद्धि गर्ने, लागूऔषध दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्ने, युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा संलग्न गराउने, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पुर्याउने तथा प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष महतले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अतिथि, शुभेच्छुक, सहयोगदाता, सल्लाहकार, पदाधिकारी, सदस्य तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे।
२०८२ पुस १ गते स्थापना भएको शान्तिचोक युवा समूह जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भइसकेको छ भने आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर समेत प्राप्त गरिसकेको संस्थाले जनाएको छ।
समूहले ‘युवा शक्ति, समाज प्रगति’ नारालाई आत्मसात् गर्दै आगामी दिनमा विभिन्न जनहितकारी तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
View : 46
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved