Biratnagar, Morang, Nepal
अर्थ

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

-
अखवारका कुरा
१८ जेठ २०८३, सोमवार

Advertisement

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आयोजना गर्ने भएको छ ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित प्रदर्शनी आगामी जेठ २२ देखि २५ गतेसम्म (५–८ जुन २०२६) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष तथा फिन इलेक्ट्रो–टेक २०२६ मूल आयोजक समितिका संयोजक दिलीप कुमार अग्रवालका अनुसार नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित विद्युतीय तथा ऊर्जा क्षेत्रको प्रदर्शनीका रूपमा स्थापित यस कार्यक्रमले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र सेवाहरूको प्रदर्शन गर्नेछ ।
वि.सं. १९९६ देखि नियमित रूपमा आयोजना हुँदै आएको फिन इलेक्ट्रो–टेकले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यवसायिक अवसर आदान–प्रदानको प्रभावकारी मञ्चका रूपमा पहिचान बनाएको महासंघले जनाएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत ऊर्जा तथा विद्युतीय क्षेत्रलाई प्राथमिकतामा राखेको सन्दर्भमा प्रदर्शनीले विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण पूर्वाधार विस्तार, विद्युतीय सवारीसाधनको प्रवद्र्धन तथा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्यलाई सहयोग पुग्ने विश्वास आयोजकको छ ।
प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको सहभागिता रहनेछ । ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रिक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, ओरिएन्ट इलेक्ट्रिक, चिन्ट, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स, अर्किड इलेक्ट्रिकल्सलगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन र प्रविधि प्रदर्शन गर्नेछन् ।
प्रदर्शनीमा ट्रान्सफर्मर, स्विचगियर, केवल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन, एलईडी प्रविधि, विद्युतीय सुरक्षा प्रणाली, सौर्य तथा नवीकरणीय ऊर्जा, ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार, सूचना प्रविधि र परीक्षण तथा मापन उपकरणलगायतका सामग्री प्रदर्शन गरिने जनाइएको छ ।
आयोजकका अनुसार प्रदर्शनीले स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, आयातकर्ता, वितरक र उपभोक्ताबीच व्यवसायिक सम्बन्ध विस्तार गर्नुका साथै प्रविधि हस्तान्तरण र नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्याउनेछ । यस वर्ष प्रदर्शनीका सबै स्टल समयअघि नै बुकिङ भइसकेका छन् ।
प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट (बी–टु–बी मिटिङ), उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्रहरू सञ्चालन गरिनेछन् । उद्योगी, व्यवसायी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, विद्यार्थी तथा अनुसन्धानकर्ताले आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर पाउनेछन् ।
यस वर्षको प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने पावर बाई स्पोन्सर ह्याभेल्स इन्डिया लिमिटेड रहेको छ । प्लाटिनम स्पोन्सर जनता केईआई, डायमण्ड स्पोन्सर लेजर इन्डिया तथा ग्रेटह्वाइट इलेक्ट्रिकल्स र गोल्ड स्पोन्सर ब्रिलियन्ट एलईडी रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाको सहयोग रहने प्रदर्शनीमा स्वदेश तथा विदेशबाट करिब २५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । आयोजकका अनुसार आगन्तुकले अनिवार्य रूपमा क्यूआर कोड वा अनलाइन लिंकमार्फत पूर्वदर्ता गर्नुपर्नेछ । विद्यार्थी, अनुसन्धानकर्ता, प्राविधिक जनशक्ति तथा सर्वसाधारणले आधुनिक विद्युतीय तथा ऊर्जा प्रविधिको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् ।
महासंघले सम्पूर्ण उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, ऊर्जा विज्ञ, शैक्षिक संस्था, विद्यार्थी, सरकारी निकाय, विकास साझेदार, सञ्चारकर्मी तथा आम नागरिकलाई प्रदर्शनीमा सहभागी भई सफल बनाउन आग्रह गरेको छ ।

View : 2

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved