शिक्षक आन्दोलन विच कक्षा १२ को परीक्षा
काठमाडौं – शिक्षाक्षेत्रको चर्किदो आन्दोलन र अन्योलबीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने अडान लिएको छ। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा स्थगन नगरी वैशाख ११ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको हो।
शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राख्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनरत छन्। आन्दोलनका क्रममा शिक्षकहरूले सडक प्रदर्शनदेखि शैक्षिक संस्थान बन्दसम्मका कार्यक्रम गर्दै आएका छन्। आन्दोलन तीव्र हुँदै गएपछि कक्षा १२ को परीक्षा प्रभावित हुने आशंका गरिएको थियो।
सरकार र शिक्षक महासंघबीच पटक–पटक संवाद भए पनि सहमति हुन सकेको छैन। महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरूको सेवा एकद्वार प्रणालीमा ल्याउनुपर्ने, पेशागत सुरक्षा सुनिश्चित गर्नुपर्ने जस्ता मागहरूमाथि सरकार गम्भीर नभएको आरोप लगाउँदै आएको छ।
शिक्षकहरूले माग पुरा नभएसम्म परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका छन्। यस्तो अवस्थामा परीक्षाको वातावरण कति सहज हुनेछ भन्नेमा प्रश्न उठिरहेको छ।
तर बोर्डले भने विद्यार्थीसँगको जिम्मेवारीलाई केन्द्रमा राख्दै परीक्षा तय समयमै सञ्चालन गरिने स्पष्ट पारेको छ। बोर्डको निर्णयसँगै लाखौं परीक्षार्थीहरूका लागि केही हदसम्म अन्योल हटे पनि, आन्दोलनको प्रभाव कति पर्ने हो भन्नेबारे अझै स्पष्ट छैन।
विद्यार्थी, अभिभावक र शैक्षिक वृत्तमा अब चासोको विषय बनेको छ – परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन सक्ला त?
View : 123
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved