विराटनगर
‘प्रविधिसँगको न्यूरो सर्जरीको विकास’ भन्ने मूल नाराका साथ शुक्रबार र शनिबार विराटनगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल न्यूरो सर्जरी समाजको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपालका न्यूरो सर्जनहरू, नर्स, प्राविधिक, फिजियोथेरापिस्ट, र श्रीलंका, बंगलादेश, पाकिस्तानका विशेषज्ञहरू गरी करिब १५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने छ।
सम्मेलनको तयारी पूरा भएको जानकारी दिन बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल न्यूरो सर्जरी समाजका अध्यक्ष डा. यमबहादुर रोकाले यस महत्त्वपूर्ण सम्मेलनको उद्देश्य र यसको तयारीबारे जानकारी गराए। उनका अनुसार सम्मेलनमा १०० भन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत गरिनेछ, जसमा उत्कृष्ट कार्यपत्रलाई सम्मान र पुरस्कार प्रदान गरिने छ।
डा. रोकाले बताएअनुसार, विगतमा यस्ता सम्मेलनहरू काठमाडौंमै हुने गर्थे, तर पछिल्ला दुई वर्षदेखि यसलाई काठमाडौंबाहिर आयोजना गर्न थालिएको छ। यसपटक पूर्व क्षेत्रका चिकित्सकहरूलाई न्यूरो सर्जरी सम्बन्धी नयाँ प्रविधिहरूको जानकारी दिने उद्देश्यले विराटनगरमा यो सम्मेलन आयोजना गरिएको हो। उनले भने, “यस सम्मेलनले न्यूरो सर्जरीसम्बन्धी विकास र उपचार पद्धतिबारे सबैलाई जानकारी दिनेछ। यसले सामान्य उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने सन्देश पनि दिन्छ।”
सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भयो। यस गोष्ठीमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न विषयमा ज्ञान आदान-प्रदान गरेका थिए।
View : 99
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved