विराटनगर । पूर्वी नेपाललाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित विराटनगरमा ‘मार्टर्स मेमोरियल कलेज’ सञ्चालनमा आएको छ। विराटनगर–१०, निलसदन दक्षिणमा अत्याधुनिक पूर्वाधारसहित स्थापना गरिएको कलेजले यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो।
कलेजको प्रिन्सिपलमा दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय शिक्षासेवी नियुक्त भएका छन्। बिहीबार आयोजित एक समारोहबीच उनलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो।
पदभार ग्रहणपछि बोल्दै श्रेष्ठले विद्यार्थीलाई प्रतिस्पर्धी, सिर्जनशील र आत्मविश्वासी बनाउने खालको शिक्षामा कलेज केन्द्रित रहने बताए। “हामी केवल प्रमाणपत्र दिने संस्था बन्न चाहँदैनौँ,” उनले भने, “समयले मागेको दक्ष, सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गर्नु नै हाम्रो मूल उद्देश्य हो।”
उनले कलेजले विद्यार्थीमैत्री तथा प्रविधिमैत्री सिकाइ वातावरणलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै अतिरिक्त प्रवेश परीक्षा नलिइने जानकारी दिए। “एसईईको नतिजाले नै विद्यार्थीको आधारभूत क्षमता देखाइसकेको हुन्छ,” उनले भने, “त्यसैले थप मानसिक दबाब सिर्जना गर्ने इन्ट्रान्स प्रणालीभन्दा हामी योग्यताका आधारमा सहज भर्ना प्रक्रियामा विश्वास गर्छौँ।”
कलेजको विज्ञान संकाय संयोजकमा किरण दास नियुक्त भएका छन्। सञ्चालक समितिको अध्यक्षमा विष्णु डङ्गोल रहेका छन्।
३१ जना प्रतिष्ठित शिक्षाप्रेमी तथा व्यवसायीको संलग्नतामा करिब ७ करोड रुपैयाँको लगानीमा कलेज स्थापना गरिएको हो। साढे पाँच कट्ठा क्षेत्रफलमा बनेको चारतले भवन पूर्ण रूपमा वातानुकूलित छ। स्मार्ट कक्षाकोठा, डिजिटल सिकाइ प्रणाली, आधुनिक प्रयोगशाला तथा सुरक्षित शैक्षिक वातावरणलाई कलेजको विशेषताका रूपमा प्रस्तुत गरिएको छ।
सञ्चालक समितिले विराटनगरलाई राष्ट्रियस्तरकै शैक्षिक ‘हब’ बनाउने दीर्घकालीन लक्ष्यसहित कलेज सञ्चालनमा ल्याइएको जनाएको छ। गुणस्तरीय शिक्षा अध्ययनका लागि विद्यार्थी राजधानी केन्द्रित हुनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसमेत कलेजले लिएको छ।
View : 152
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved