Biratnagar, Morang, Nepal
देश

सलकपुर सेवा आश्रममा श्रीकृष्ण प्रणामी अन्तर्राष्ट्रिय धार्मिक महोत्सव हुँदै

-
अखवारका कुरा
१ चैत २०८२, आइतवार

Advertisement

मोरङ - सुन्दरहरैचा ९ विराटचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रमको स्वर्ण महोत्सवको अवसरमा आगामी वैशाख १ देखि ७ गतेसम्म (अप्रिल १४–२०, २०२६) श्रीकृष्ण प्रणामी अन्तर्राष्ट्रिय धार्मिक महोत्सव आयोजना गरिने भएको छ।

महोत्सवको अवसरमा १०८ श्रीमत तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्ण कथा ज्ञान महायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।

प्रणामी दर्शनलाई अध्यात्मवाद, प्रेम, सेवा र भक्तिको मार्गमा आधारित धार्मिक दर्शनका रूपमा लिइन्छ। तन, मन र वचनबाट सत्य र अहिंसालाई आत्मसात गर्दै श्रीकृष्ण परब्रह्म परमात्माको भक्तिमा समर्पित जीवन जिउन प्रेरित गर्ने यस दर्शनलाई निजानन्द सम्प्रदायका रूपमा पनि चिनिन्छ। यस दर्शनका प्रणेता सद्गुरु देवचन्द्रजी महाराज हुन् भने महामति प्राणनाथले यसको प्रवर्द्धन गर्दै परमात्माका दिव्य वाणीलाई लिपिबद्ध गरी ‘तारतम सागर’का रूपमा स्थापित गरेका थिए।

करिब चार सय वर्षअघि सर्वधर्म समन्वयवादी धार्मिक दर्शनका रूपमा सुरु भएको प्रणामी परम्पराका अनुयायी अहिले नेपाल र भारतसहित विश्वका विभिन्न देशमा फैलिएका छन्। “सेवा से तुम पाओगे पार, सुख शीतल करु सब संसार” भन्ने भावनासहित समाजले विभिन्न आध्यात्मिक तथा सामाजिक कार्य गर्दै आएको छ।

महोत्सवका क्रममा आद्धधर्मपीठ श्री ५ नौतनपुरी धामका धर्माचार्य अनन्त श्री विभूषित जगतगुरु कृष्णमणिजी महाराज, श्री महामंगलापुरी धाम सुरताका गादीपति जगतगुरु आचार्य अनन्त श्री विभूषित सूर्यनारायण दासजी महाराज, श्री ५ पद्मावतीपुरी धाम मन्दिर ट्रस्टका परमहंस श्री १०८ सदानन्दजी महाराजसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्त, धर्माचार्य, विद्वान, उद्योगी, व्यापारी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

महोत्सवमा सहभागी भई आध्यात्मिक लाभ लिन आयोजकले सम्पूर्ण भक्तजन, अभिभावक तथा श्रद्धालुहरूलाई आमन्त्रण गरेको छ।

स्वर्ण महोत्सव प्रचार-प्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)का अनुसार कार्यक्रमले धार्मिक, आध्यात्मिक तथा सामाजिक सद्भाव प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

View : 59

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved