Biratnagar, Morang, Nepal
शिक्षा

कोबासमा बुक फ्री फ्राइडेको घोषणा

कोबास कलेजको अभिमुखिकरण र स्वागतसँगै सिर्जनशील प्रयोग: बुक फ्री फ्राइडे योजना सार्वजनिक

-
अखवारका कुरा
१२ साउन २०८२, सोमवार

Advertisement

विराटनगर, श्रावण १२
विराटनगरस्थित कोबास कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागतका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरको होटल रत्नामा आयोजित उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी  इन्द्र देव यादव थिए। उनले विद्यार्थी जीवन अनुशासन, परिश्रम र व्यवहारिक ज्ञानको संयोजन मार्फत अघि बढ्नुपर्ने बताए। यादवले भने,
"आजको विद्यार्थी नै भोलिको राष्ट्रनिर्माता हो। यसैले विद्यार्थीहरूले अध्ययनसँगै व्यवहारिक सीपमा समेत ध्यान दिन आवश्यक छ। समयको सही सदुपयोग र सकारात्मक सोचले जीवनलाई सफलतातर्फ डोर्याउँछ।"

कार्यक्रमको सभापतित्व गर्दै कोबास कलेजकी निर्देशक प्रिया  सारडाले ‘बुक फ्री फ्राइडे’ नामक नयाँ शैक्षिक अवधारणा सार्वजनिक गरिन्।

उनका अनुसार हरेक शुक्रबार पाठ्यपुस्तकबाहेकका माध्यमबाट शिक्षण हुने गरी कलेजले छुट्टै अभ्यास सुरु गर्दैछ।

"शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन। सामाजिक, नैतिक र सृजनात्मक क्षमताको विकासका लागि हामीले ‘बुक फ्री फ्राइडे’ लागू गर्दैछौं, जसमा विद्यार्थीहरूलाई कार्यशाला, समूहगत गतिविधि, नेतृत्व विकास तालिम र सृजनात्मक अभ्यास गराइनेछ," उनले भनिन्।

एकेडेमीक हेड  एकलब्य यादवले कलेजले अपनाउने अनुशासन, पोशाक, दैनिक समय तालिका, कक्षा सञ्चालन प्रणाली लगायतका विषयमा विद्यार्थीहरूलाई विस्तृत जानकारी दिए। उनले भने,"शिक्षा सफल बनाउन विद्यार्थी र शिक्षक दुवै जिम्मेवार बन्नुपर्छ। कोबासले विद्यार्थी अनुशासनलाई उच्च प्राथमिकतामा राख्दै शिक्षालाई सशक्त बनाउन काम गर्दै आएको छ।"

विद्यार्थी प्रतिनिधि सोनी साह ले कलेजमा भर्ना भएपछि आफूमा उत्साह र आत्मविश्वास थपिएको बताइन्।"यहाँको वातावरण, शिक्षकहरूको साथ र सिकाइ पद्धतिले हामीलाई नयाँ ऊर्जा मिलेको छ," उनले भनिन्।

कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायका कक्षा ११ का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। साथै, विद्यार्थीहरूले गायन, कविता, नृत्य, अभिनय जस्ता प्रस्तुतीमार्फत कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।

कोबास कलेजका शिक्षक अनुराग पाठकले कलेजको सम्पूर्ण संरचना, शैक्षिक दर्शन र विद्यार्थी–मैत्री वातावरणबारे सविस्तार जानकारी दिए।

उनले थपे, “विद्यार्थी यहाँ सिक्न मात्र होइन, सोच्न र सिर्जना गर्न पनि आउँछन्। यही कारण हो, हाम्रा पूर्वविद्यार्थीहरू आज देश–विदेशका प्रतिष्ठित क्षेत्रमा अग्रसर छन्।”

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रका व्यक्तित्वको उल्लेखनीय सहभागिता रहेको थियो।

कोबास कलेजले यस्ता अभिमुखीकरण कार्यक्रममार्फत नवआगन्तुक विद्यार्थीमा उत्साह, जिम्मेवारी र व्यवहारिक शिक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।

View : 414

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved