Biratnagar, Morang, Nepal
+977-9708590006
देश

छठ पर्व मनाउन जनकपुरधाम भित्र्याइयो पाँच करोडको केरा

-
अखवारका कुरा
१९ कार्तिक २०८१, सोमवार

Advertisement


धनुषा —छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्र  पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । 


जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब पाँच करोड रुपैयाँ बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको गुहावटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए । 'छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ,' सचिव पूर्वेले भने । 

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख रुपैयाँ पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ । साथै देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरू बताउँछन् । 

 

 

समाचार स्रोत : रासस

 

View : 145

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved