Biratnagar, Morang, Nepal
देश

विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ, चैतमा मात्र ११ वटा चोरी

-
अखवारका कुरा
२७ चैत २०८१, बुधवार

Advertisement


विराटनगर, मोरङ — चैत महिनामा मात्र ११ वटा मोटरसाइकल चोरी भएका विराटनगरबाट दुई जना युवालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा विराटनगर–१७ का १७ वर्षीय सोयल आलम र २४ वर्षीय मो। नौसाद अन्सारी रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, कटहरी–१ का दुलाचन्द पोद्दारको विराटनगर–७ अस्पताल चोकमा पार्किङ गरिएको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।

उनीहरूको साथबाट चोरीमा प्रयोग हुने ‘मास्टर चाबी’ र एक थान मोबाइल पनि बरामद गरिएको छ। अनुसन्धानको क्रममा भारतको टिकुलिया क्षेत्रबाट चारवटा मोटरसाइकल र एउटा स्कुटर पनि फेला पारिएको प्रहरीले जनाएको छ।

एसपी नारायण प्रसाद चिमरीयाका अनुसार, गत मंसिरमा गिरोह नाइके नजाम अन्सारी पक्राउ परेपछि केही समय चोरीका घटना घटेका थिए। तर चैतबाट पुनः तीव्रता पाएपछि प्रहरी सक्रियता बढाइएको थियो।

पक्राउ परेका व्यक्तिहरू अस्पताल, अदालत, मालपोत, होटल लगायतका पार्किङ स्थल तथा सुनसान ठाउँमा मोटरसाइकल चोरी गर्दै आएका थिए। उनीहरू नेपाली नागरिक भए पनि भारतमा बस्दै आएका थिए र दुवै देशको सिम प्रयोग गर्थे।

चोरी गरिएका मोटरसाइकल भारततर्फ लगेर सस्तो मूल्यमा बिक्री गरिँदै आएको खुलेको छ। साउनदेखि हालसम्म मोरङमा ७१ वटा मोटरसाइकल चोरी भएका छन्, तर तीमध्ये केवल १० वटा मात्रै फेला परेका छन्।

डीएसपी जोशीका अनुसार, पक्राउ परेका व्यक्ति गिरोहका नाइके हुन् या अन्य कोहीसँग सम्बन्धित छन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ। फेला परेका सवारी साधन सम्बन्धित धनीलाई आवश्यक प्रक्रिया पुरा गरी फिर्ता गरिने बताइएको छ।

View : 141

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved