विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा संविधान दिवस प्रदेश सरकारले भव्य समारोहको आयोजना गरेर मनाएको हो ।
दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा विभिन्न १५ वटा जातजातिका झाँकी पनि प्रदर्शन गरिएको थियो । सहिद मैदान अगाडिबाट सुरु भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोक, मेनरोड, गोल्छा चोक, डाँफे चोक हुँदै आदर्श विद्यालय परिसरमा औपचारिक समारोहमा परिणत भएको थियो ।
प्रभातफेरीमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थहरु, सुरक्षा अधिकारी, सुरक्षाकर्मी, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न संंघसंस्थाका प्रतिनिधि, खेलकुदकर्मी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
दिवसका अवसरमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई ३ वटै सुरक्षा निकायको संयुक्त टोलीले सलामी अर्पण गरेको थियो भने संविधान दिवसको अवसरमा आयोजित निबन्ध र वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको जानकारी दिदै मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारे ।
समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, उपसभामुख सृजना दनुवार, मन्त्रीहरु, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रमुख सचिव केदारनाथ शर्मालगायतका उच्चपदस्थ राष्ट्र सेवक कर्मचारीहरुको उपस्थित रहेको थियो ।
View : 189
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved