विराटनगर। प्याब्सन प्रेसिडेन्ट कप यु–१५ फुटबल प्रतियोगिताको उपाधि मोडर्न एरा स्कुलले जितेको छ। विराटनगरस्थित जुटमिल खेल मैदानमा सम्पन्न फाइनल खेलमा मोडर्न एराले ग्रेडेड स्कुललाई टाइ–ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
निर्धारित समयसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइ–ब्रेकरमा पुगेको थियो। प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मोडर्न एराले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भयो।
खेलको म्यान अफ द म्याच मोडर्न एराका सुसान्त रोईला घोषित भए। त्यसैगरी बेस्ट डिफेन्डर ग्रेडेड स्कुलका निखिल टुडु, बेस्ट गोलकिपर ग्रेडेड स्कुलकै तारानाथ पोखरेल, बेस्ट कोच मोडर्न एराका सञ्जिव भट्टराई, हाइ स्कोरर मोडर्न एराका रोसिक राई, प्लेयर अफ द टुर्नामेन्ट ग्रेडेड स्कुलका सृजन श्रेष्ठ तथा फेयर प्लेयर गोदावारी स्कुलका आर्यान निरौला घोषित भए।
मंसिर २५ देखि पुस १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विराटनगरका २४ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक दिनेश ढुंगानाले जानकारी दिए। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित प्याब्सनले प्रत्येक वर्ष यु–१५ फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
विजयी खेलाडी तथा टिमलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, जिल्ला उपाध्यक्ष विष्णु डंगोल, महानगर अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
View : 159
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved