Biratnagar, Morang, Nepal
शिक्षा

उच्च शिक्षाको केन्द्र बन्दै एस्पायर

एस्पायर कलेजमा नवआगन्तुक विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न

पूर्वी नेपालमा उच्च शिक्षाको विश्वासिलो केन्द्र बन्दै एस्पायर कलेज
३ पुष २०८२, बिहिवार

Advertisement


विराटनगर ।  विराटनगर-१४ मा अवस्थित काठमाडौँ विश्वविद्यालयसँगको साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित एस्पायर कलेजमा शैक्षिक सत्र २०२५ का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम विराटनगरको होटल स्वागतममा सम्पन्न भएको छ।

कलेजका अध्यक्ष बिकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्नातक तहका बि.पि.एच, बि.टेक.एड. आईटी तथा बि.आइ.टी कार्यक्रमअन्तर्गत भर्ना भएका ८१ जना विद्यार्थी सहभागी थिए। अभिमुखीकरण कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका वरिष्ठ प्राध्यापक तथा शैक्षिक नेतृत्वले विश्वविद्यालयको अध्ययन प्रणाली, शैक्षिक अनुशासन र भविष्यका सम्भावनाबारे विस्तृत जानकारी गराएका थिए।

कार्यक्रमका प्रमुख वक्ता नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले गुणस्तरीय उच्च शिक्षाले देशको मानव पुँजी निर्माणमा निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै विद्यार्थीलाई लक्ष्य, अनुशासन र नवप्रवर्तनलाई आत्मसात् गर्न आग्रह गरे।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनिष पोख्रेलले एस्पायर कलेजलाई विश्वविद्यालयस्तरीय शैक्षिक ढाँचामा विकास गरिने स्पष्ट पार्दै “केयूको शैक्षिक मूल्य, अनुसन्धान संस्कृति र नवाचारलाई एस्पायरमार्फत पूर्वी नेपालसम्म विस्तार गरिने” बताए।

देशमा शैक्षिक रूपान्तरणको मेरुदण्डका रूपमा एस्पायर कलेजलाई स्थापित गर्ने उद्देश्यका साथ काठमाडौँ विश्वविद्यालय पूर्ण रूपमा सहकार्यमा रहेको स्टिम एजुकेसन विभागका प्रमुख स.प्रा.डा. बिनोद प्रसाद पन्तले बताए। उनले व्यवहारिक, सीपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार गरिने उल्लेख गरे।

यस्तै, स्कुल अफ म्यानेजमेन्टका सहायक डिन प्रा.डा. खगेन्द्र आचार्यले विद्यार्थीलाई आत्ममूल्यांकन र निरन्तर सिकाइको संस्कार विकास गर्न आग्रह गर्दै सफल करियरको आधार स्वअनुशासन र प्रतिबद्धता भएको बताए।

कार्यक्रमअन्तर्गत बि.पि.एच, बि.टेक.एड. आईटी र बि.आइ.टी कार्यक्रमका विद्यार्थीलाई क्रमशः कार्यक्रम संयोजक आशा थापा मगर, स.प्रा.डा. बिनोद प्रसाद पन्त तथा स.प्रा.डा. पंकज राज दवाडीले विश्वविद्यालयको दृष्टिकोण, ध्येय र लक्ष्यबारे अभिमुखीकरण गराएका थिए।

स्वागत मन्तव्यमा कलेजका अध्यक्ष अधिकारीले एस्पायर कलेज छोटो समयमै विद्यार्थीको रोजाइको नमुना कलेजका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै प्रभावकारी सिकाइ, अनुभवी प्राध्यापक र आधुनिक शैक्षिक पूर्वाधारमार्फत गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापनमा क्याम्पस प्रमुख सि.एम. बस्नेतले धन्यवाद ज्ञापन गर्दै एस्पायर कलेजले ज्ञानसँगै सीप, संस्कार, प्रविधिशिलता  र एकताको समन्वयमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताए।

कार्यक्रममा एस.ओ.एस स्मल ग्रुप होमकी निर्देशक प्रनिता बस्नेतले अभिभावकको प्रतिनिधित्व गर्दै मन्तव्य राखेकी थिइन्। वक्ताहरूले एस्पायर कलेज पूर्वी नेपालमा उच्च शिक्षाको विश्वासिलो केन्द्रका रूपमा उदाउँदै गएको विचार व्यक्त गरेका थिए ।

View : 125

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved