Biratnagar, Morang, Nepal
सामाजिक सेवा

रथयात्रामा प्राप्त हुने सम्पूर्ण दान-भेटी प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिने

-
अखवारका कुरा
१३ भदौ २०८३, शनिवार

Advertisement

विराटनगर । विराटनगरमा आयोजना हुने ऐतिहासिक तथा भव्य श्री राधाकृष्ण रथयात्राका क्रममा भक्तजनहरूबाट प्राप्त हुने सम्पूर्ण दान–भेटी प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिने भएको छ।

रथयात्रालाई धार्मिक आस्था र मानवीय सेवासँग जोड्ने उद्देश्यले उक्त निर्णय गरिएको हो। प्राकृतिक तथा दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यका साथ रथयात्रामा संकलन हुने दान–भेटी कोषमा जम्मा गरिने जनाइएको छ।

श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रा केवल धार्मिक आस्था र परम्परासँग मात्र नभई मानवता र सेवाको भावनासँग पनि जोडिएको बताउनुभयो।

 विपद्का कारण पीडित बनेका नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले यस वर्ष रथयात्रामा प्राप्त हुने सम्पूर्ण दान–भेटी प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै, समितिका सचिव कृष्ण बहादुर कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा धार्मिक आस्था, सामाजिक सद्भाव र मानवीय सेवाको अनुपम उदाहरण भएको बताउनुभयो। भक्तजनहरूले श्रद्धापूर्वक प्रदान गर्ने दान–भेटी विपद्पीडित नागरिकको राहतमा उपयोग गर्ने निर्णयले रथयात्राको सामाजिक तथा मानवीय महत्व अझ बढेको उहाँको भनाइ छ।

“रथयात्रा हाम्रो आस्था र परम्पराको पर्व मात्र होइन, दुःखमा परेका नागरिकप्रति सहयोग र सेवाको भावना व्यक्त गर्ने अवसर पनि हो,” सचिव कार्कीले भन्नुभयो, “भक्तजनबाट प्राप्त हुने सहयोग विपद्पीडितको राहत तथा उद्धारमा उपयोग हुने भएकाले सबै श्रद्धालुहरूलाई यस पुण्य कार्यमा सहभागी हुन आग्रह गर्दछौँ।”
समितिले यस वर्षको रथयात्रालाई धार्मिक, सांस्कृतिक र मानवीय सेवाको सन्देश प्रवाह गर्ने गरी थप व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ।

View : 30

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved