विराटनगर — राधाकृष्णको रथमा भक्तजनले चढाएको भेटी यसपटक बाढीपीडितको राहतमा पुगेको छ। विराटनगरमा सम्पन्न ५९औँ राधाकृष्ण रथयात्रामा संकलित २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत उक्त रकम राहत कोषमा जम्मा गरेको हो। रकम जम्मा गरिएको भौचर आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी र सचिव कृष्णबहादुर कार्कीलगायतले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरे।
रथयात्राबाट संकलित भेटी बाढीपीडितको राहतमा खर्च गर्ने निर्णय आयोजक समितिले रथयात्राअघि नै गरेको थियो। सोही निर्णयअनुसार संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले बताए।
‘रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्म आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुगोस् भनेर भेटी रकम राहत कोषमा दिएका हौं,’ कार्कीले भने, ‘विपद्मा परेका परिवारको राहत र पुनःस्थापनामा यसबाट सहयोग पुग्ने अपेक्षा गरेका छौं।’
यस वर्षको रथयात्रा सुरक्षा निकाय र स्वयंसेवकको समन्वयमा व्यवस्थित रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ। भक्तजनको भीड व्यवस्थापन, दर्शन तथा रथ तान्ने क्रममा सहजता कायम गर्न सुरक्षा व्यवस्था कडा पारिएको अध्यक्ष कैलाश रेग्मीले बताए।
रथयात्राका क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले १ सय १० जनालाई नियन्त्रणमा लिएको थियो। रथयात्राको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
विराटनगरमा हरेक वर्ष आयोजना हुने राधाकृष्ण रथयात्रा यसपटक ५९औँ संस्करणका रूपमा सम्पन्न भएको हो। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको रथयात्रामा ठूलो संख्यामा भक्तजन सहभागी भएका थिए।
रथयात्रामा संकलित भेटीलाई मन्दिर तथा धार्मिक गतिविधिमा खर्च नगरी विपद्का बेला पीडित नागरिकको सहयोगमा लगाइएको आयोजकको भनाइ छ। भक्तजनको आस्थाबाट संकलित रकम विपद्मा परेकाको राहतमा लगाउने निर्णयले रथयात्रालाई धार्मिकसँगै सामाजिक सेवासँग पनि जोडेको छ।
View : 22
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved