काठमाडौ को पशुपतिनाथमा भक्तजनको भिड
भाद्र शुक्ल तृतियाका अवसरमा देशभरका नारीहरूले धार्मिक आस्था र सांस्कृतिक परम्परा अनुसार हरितालिका तीज पर्व मनाइरहेका छन्। महिलाहरूले निराहार (पानीसमेत नखाइ) व्रत बसी भगवान् शिव र पार्वतीको पूजा-अर्चना गर्दै पारिवारिक सुख, शान्ति र दीर्घायुको कामना गरेका छन्।
तीज पर्वमा व्रत बस्नुको धार्मिक महत्त्वका साथै सांस्कृतिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ। तीजको अघिल्लो दिन महिलाहरू माइतीघरमा गई “दर” खाने परम्परा रहेको छ, जसमा परिवार र नातागोता भेला भएर विशेष परिकारहरू बनाइन्छन्।
आजको दिन देशभरका शिवालय र मन्दिरहरूमा बिहानैदेखि पूजा गर्नेहरूको घुइँचो लागेको छ। विशेषगरी महिलाहरूले तीजको व्रत बसी महादेवको आराधना गर्दा पारिवारिक कल्याण र पतिपत्नीबीचको प्रेम सुदृढ हुने विश्वास गरिएको छ। धार्मिक मान्यताअनुसार यो पर्वको आरम्भ सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पति पाउने वरदान स्वरूप तपस्या गरेको कथा संग जोडिएको छ।
महिलासँगै पुरुषहरूले पनि तीजमा व्रत बस्न सक्ने धार्मिक मान्यता रहेको छ। व्रतालुहरू आज दिनभर भगवान् शिवको पूजा-अर्चना गरी साँझ व्रत उद्यापन गर्छन् भने कतिपयले भोलि शनिबार बिहान मात्रै व्रत समापन गर्ने गर्दछन्।
शनिबार गणेश चौथी तिथि परेकाले भोलि देशभर गणेश भगवानको पूजा-अर्चना गरिनेछ। त्यस्तै, आइतबार ऋषिपञ्चमी पर्व मनाइनेछ, जसमा महिलाहरूले नदी, तलाउ, कुन्डमा गएर स्नान गरी सप्तऋषिको पूजाअर्चना गर्ने धार्मिक परम्परा रहेको छ।
देशभर तीजको उल्लासले चहलपहल बढेको छ, विशेष गरी शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
View : 148
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved