Biratnagar, Morang, Nepal
देश

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

-
अखवारका कुरा
११ असार २०८३, बिहिवार

Advertisement

काठमाडौं । हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा व्रतमध्ये एकादशीको विशेष स्थान रहेको छ । त्यसमध्ये पनि निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मसंयम, अनुशासन, स्वास्थ्य र सांस्कृतिक जीवनशैलीसँग समेत जोडिएको छ ।

ज्योतिष तथा पण्डित विदुर लोचन न्यौपानेका अनुसार निर्जला एकादशीको मुख्य विशेषता नै पानीसमेत सेवन नगरी भगवान विष्णुको आराधना गर्दै उपवास बस्नु हो । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले शास्त्रमा वर्णन गरिएअनुसार व्रत तीन प्रकारका रहेको जानकारी दिए । जसमा जलाहार, फलाहार र निर्जला रहेको छन् । 

जलाहारमा पानी मात्र सेवन गरिन्छ, फलाहारमा फलफूल तथा हल्का आहार ग्रहण गरिन्छ भने निर्जला व्रतमा पानीसमेत नपिई उपवास बस्ने गरिन्छ । उनका अनुसार शास्त्रीय मान्यतामा निर्जला व्रतलाई सबैभन्दा उत्कृष्ट मानिएको छ । ‘शास्त्रमा निर्जला व्रतले पूर्ण फल दिने, जलाहारले आधा फल दिने र फलाहार वा अन्य आहार ग्रहण गरेर बसेको व्रतले अझ कम फल दिने उल्लेख छ,’ उनले भने । निर्जला एकादशीको मूल सन्देश आत्मसंयम र इन्द्रिय नियन्त्रण रहेको पण्डित न्यौपाने बताउँछन् । उनका अनुसार व्रतको उद्देश्य केवल भोकै बस्नु होइन, मन, वचन र कर्मलाई शुद्ध राख्नु पनि हो ।

उनले भने,‘मानिसले जीवनभर भौतिक आवश्यकताका लागि दौडधुप गरिरहेको हुन्छ । एकादशीको व्रतले शरीरलाई विश्राम दिनुका साथै मनलाई आध्यात्मिक मार्गतर्फ उन्मुख गराउँछ ।’

उनका अनुसार सत्ययुगमा निर्जला व्रत व्यापक रूपमा पालन गरिन्थ्यो । तर समय परिवर्तनसँगै मानिसको जीवनशैली, शारीरिक अवस्था र कार्यव्यस्तताले गर्दा सबैले पूर्ण निर्जला व्रत बस्न सक्ने अवस्था नरहे पनि सक्नेहरूले यो व्रत पालना गर्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ ।

उपवासको महत्वः धर्मदेखि विज्ञानसम्म

धार्मिक महत्वका अतिरिक्त उपवासको वैज्ञानिक पक्ष पनि रहेको न्यौपाने बताउँछन् । आधुनिक चिकित्सा विज्ञानले समेत समय–समयमा उपवास बस्नु शरीरका लागि लाभदायक हुने बताउने गरेको उनको भनाइ छ ।

‘डाक्टरहरूले पनि सातामा एक दिन वा निश्चित अवधिमा फास्टिङ गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्छन् । शरीरलाई विश्राम दिन, पाचन प्रणालीलाई सन्तुलित राख्न र शरीरभित्रको शुद्धीकरण प्रक्रियालाई सक्रिय बनाउन उपवास उपयोगी हुन्छ,’ उनले बताए ।

यद्यपि उनले स्वास्थ्य अवस्था कमजोर भएका, वृद्धवृद्धा, गर्भवती महिला वा दीर्घरोगीहरूले आफ्नो अवस्था हेरेर मात्र व्रत बस्नुपर्ने सुझाव दिएका छन् ।

एकादशीको पौराणिक महत्व

हिन्दु धर्मग्रन्थहरूमा एकादशीको महिमा विशेष उनका अनुसार निर्जला एकादशीका दिन राखिएको तुलसीको दल वर्षभर संरक्षण गरिन्छ र धार्मिक कार्यहरूमा प्रयोग गरिन्छ । यसले तुलसीको संरक्षण र संवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।

तुलसीका विभिन्न प्रजातिमध्ये श्याम तुलसीलाई विशेष महत्व दिइन्छ । भगवान कृष्णको श्याम वर्णसँग जोडेर श्याम तुलसीलाई धार्मिक रूपमा बढी पवित्र मान्ने परम्परा रहेको उनी बताउँछन् । 

जन्मदेखि मृत्युसम्म तुलसीको साथ

हिन्दु जीवनपद्धतिमा तुलसीको भूमिका जन्मदेखि मृत्युसम्म रहने विश्वास छ । विभिन्न संस्कारहरूमा तुलसीको प्रयोग गरिन्छ ।

पण्डित न्यौपानेका अनुसार मृत्युशय्यामा रहेका व्यक्तिलाई तुलसी दल र गंगाजल दिने परम्परा छ । यसले आत्मालाई मोक्ष प्राप्त गर्न सहयोग गर्ने धार्मिक विश्वास रहिआएको छ ।

त्यसैगरी भगवानलाई अर्पण गरिने प्रसादमा तुलसी दल राख्नुलाई अनिवार्य मानिन्छ । तुलसीबिना भगवान विष्णुको पूजा अपूर्ण हुने मान्यता छ । एकादशी व्रत र तुलसी पूजन केवल धार्मिक अनुष्ठान मात्र होइन, समाजलाई अनुशासित, नैतिक र आध्यात्मिक बनाउने माध्यम पनि भएको उनी बताउँछन् । उनले भने,‘व्रतले संयम सिकाउँछ, पूजा–पाठले सकारात्मक सोच विकास गर्छ र तुलसीले प्रकृतिप्रतिको सम्मान सिकाउँछ ।’

आधुनिक जीवनशैलीका कारण धेरै परम्परा ओझेलमा पर्दै गए पनि एकादशी र तुलसी पूजनले अझै पनि नेपाली समाजमा आफ्नो महत्व कायम राखेको उनको भनाइ छ ।

नयाँ पुस्तालाई सन्देश

नयाँ पुस्ताले धर्मलाई अन्धविश्वासका रूपमा नभई जीवनशैली, संस्कृति र आत्मअनुशासनको माध्यमका रूपमा बुझ्नुपर्ने पण्डित न्यौपानेको सुझाव छ ।

उनका अनुसार एकादशी व्रतले मानिसलाई संयम, धैर्य र आत्मिक शान्तिको मार्गमा डो¥याउँछ भने तुलसीले प्रकृति, स्वास्थ्य र आध्यात्मिकताको सम्बन्ध बुझाउँछ ।

‘सबैले कठोर निर्जला व्रत बस्न सक्दैनन् । तर श्रद्धा, भक्ति र सदाचारका साथ भगवानलाई सम्झनु नै ठूलो कुरा हो,’उनी भन्छन् । 

उनले महिनामा दुई पटक आउने शुक्ल पक्ष र कृष्ण पक्षका एकादशीहरूमा सकेसम्म व्रत बस्न, भगवान विष्णुको पूजा गर्न, तुलसीको संरक्षण गर्न र सनातन संस्कृतिका मूल्यहरूलाई अगाडि बढाउन आग्रह गरे । धार्मिक विश्वासअनुसार एकादशीको व्रत, तुलसीको पूजा, दान–दक्षिणा तथा सत्कर्मले मानिसलाई पुण्य प्राप्त हुने, पाप नाश हुने र आध्यात्मिक उन्नति हासिल हुने विश्वास रहिआएको छ। यही कारण निर्जला एकादशीलाई सनातन हिन्दु संस्कृतिको महत्वपूर्ण आध्यात्मिक पर्वका रूपमा आज पनि श्रद्धापूर्वक मनाइँदै आइएको छ ।

View : 48

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved