Biratnagar, Morang, Nepal
अर्थ

निजी क्षेत्रमैत्री नीति र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

भोजपुर उद्योग वाणिज्य संघको १४औं साधारण सभा सम्पन्न

-
अखवारका कुरा
२७ असार २०८२, शनिवार

Advertisement

भोजपुर , असार २८ 
भोजपुर उद्योग वाणिज्य संघको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निजी क्षेत्रको लगानी सुरक्षित गर्न र स्थानीय उत्पादनको ब्रान्डिङमा जोड दिनुपर्ने सुझाव राखिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष राउतले व्यवसायीलाई बाढी, पहिरो र ढुवानीजस्ता समस्याले पिरोलिरहेको अवस्थामा राज्यले थप सहयोग गर्नुपर्ने बताए। उनले भोजपुरको मौलिक उत्पादनहरू—जस्तै भोजपुरी खुकुरी र साना घरेलु उद्योग—लाई ब्रान्ड बनाएर बजारमा लैजान संघ र सरकार मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

“निजी क्षेत्रको सीप र लगानीबाट रोजगारी सिर्जना हुन्छ, तर त्यसका लागि सरकारको साथ र विश्वास आवश्यक छ,” उनले भने।

विशेष अतिथि तथा कोशी प्रदेशका पूर्व अध्यक्ष नरेन्द्र कुमार खड्काले तीन खम्बे अर्थतन्त्रमा निजी क्षेत्रलाई ‘सारथी’का रूपमा अघि बढाउनुपर्ने बताए। महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले व्यवसायमैत्री वातावरणको अभावका कारण व्यवसायी पलायन भइरहेको भन्दै सरकारलाई चेतावनी दिए।

भोजपुर क्षेत्र नं. २ का सांसद तथा नेपाली कांग्रेस जिल्ला सभापति विनोद वान्तवाले आफू निजी क्षेत्रमैत्री नीति बनाउन लागि परेको बताए। “भोजपुरमा कृषि, पर्यटन, उद्योग र विद्युत्का क्षेत्रमा लगानीका धेरै सम्भावना छन्,” उनले भने।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले संघीय संरचनाअनुसार संघको विस्तार गर्दै त्रिवर्षीय योजना बनाउन सुझाव दिए।

सभामा निवर्तमान अध्यक्षहरू ध्रुव श्रेष्ठ र डम्बर श्रेष्ठले आफ्नो कार्यकालका गतिविधि र अनुभव सुनाए। नयाँ नेतृत्वलाई शुभकामना दिंदै संघको भवन निर्माण, कोभिड व्यवस्थापन र विपद् सामना गर्न पुर्‍याएको योगदान उल्लेख गरे।

अध्यक्ष कर्ण मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा र उदयपुरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति थियो।

सभाअघि अध्यक्ष राउतको नेतृत्वमा टोलीले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०८२ अन्तर्गत चखेवा, ट्याम्के डाँडा लगायतका पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणसमेत गरेको थियो।

View : 141

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved