डेङ्गी
काठमाडौं 
 सरकारले डेङ्गी संक्रमण नियन्त्रणका लागि साउन महिनालाई ‘डेङ्गी सचेतना महिना’को रूपमा मनाउँदै राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेङ्गीको जोखिम बढ्ने समय सुरु भएकाले आगामी चार महिनासम्म सचेतना र नियन्त्रणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै अभियानको घोषणा गरे।
“डेङ्गी संक्रमणबाट नागरिकलाई बचाउने जिम्मेवारी सरकारको हो। त्यसका लागि सचेतना नै मुख्य उपाय भएकाले अब चार महिनासम्म सबै नागरिक र निकायहरू सक्रिय हुनुपर्छ,” मन्त्री पौडेलले भने। उनले लामखुट्टे र लार्भा उत्पादन हुने स्रोतहरू नष्ट गर्न प्रत्येक व्यक्तिले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा डेंगीको जोखिम भदौदेखि कात्तिकसम्म उच्च हुने गर्छ। मन्त्रालयका तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढीमा डेङ्गी संक्रमण देखिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी मानिस डेङ्गी संक्रमित भएका थिए भने ११ हजारभन्दा बढीले ज्यान गुमाएका थिए।
मन्त्री पौडेलले सचेतना अभियान सरकारको मात्र नभई समाजकै पनि जिम्मेवारी भएकाले सबै मिलेर अभियानमा सहभागी हुनुपर्नेमा जोड दिए।
View : 196
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved