Biratnagar, Morang, Nepal
स्वास्थ

विराटनगरमा उच्चस्तरीय आँखा उपचार सहज

गोल्छा आँखा अस्पतालमा तिलगंगाका वरिष्ठ विशेषज्ञहरूको सेवा सुरु

पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा परिचित यस प्रतिष्ठानमा गत बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ भिट्रियो–रेटिना सर्जन प्राडा रबा थापाले सेवा दिँदै आँखाको पर्दासम्बन्धी विभिन्न जटिल समस्याको जाँच, उपचार तथा शल्यक्रिया गरेकी थिइन्।
-
अखवारका कुरा
७ वैशाख २०८२, आइतवार

Advertisement

विराटनगर – विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा अबदेखि तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञहरूको नियमित सेवा सुरु भएको छ।

पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा परिचित यस प्रतिष्ठानमा गत बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ भिट्रियो–रेटिना सर्जन प्राडा रबा थापाले सेवा दिँदै आँखाको पर्दासम्बन्धी विभिन्न जटिल समस्याको जाँच, उपचार तथा शल्यक्रिया गरेकी थिइन्।

उनको सेवाबाट मधुमेह र उच्च रक्तचापका कारण आँखामा समस्या भएका धेरै बिरामी लाभान्वित भए। दुई दिनको सेवामा उनले ५२ जनाको आँखाको पर्दा जाँच, २३ जनाको विशेष परीक्षण, १३ जनाको लेजर उपचार, ९ जनामा आँखाभित्र सुई प्रविधिबाट उपचार तथा ३ जनाको जटिल शल्यक्रिया गरेको अस्पताल व्यवस्थापक नवीन राजवंशीले जानकारी दिए।

अबदेखि हरेक बिहीबार र शुक्रबार तिलगंगाका अनुभवी विशेषज्ञहरू गोल्छा आँखा अस्पतालमा सेवा दिने व्यवस्था गरिएको छ।

२०३९ सालदेखि सञ्चालनमा आएको यस अस्पतालले कोशी प्रदेशभर निःशुल्क आँखा शिविर, चश्मा वितरण, मोतिबिन्दु शल्यक्रिया तथा सामुदायिक आँखा उपचार केन्द्रमार्फत ग्रामीण बासिन्दालाई लक्षित सेवा दिँदै आएको छ।

नवीनतम प्रविधिसहित गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पतालले विराटनगर तथा आसपासका जनतालाई सुलभ, सहज र विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ।

View : 105

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved