प्रचण्ड विराटनगरमा
विराटनगर, वैशाख ७– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले गणतन्त्र गम्भीर संकटमा परेको भन्दै आत्तिनु नपर्ने बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दलहरूबीच गणतन्त्रको विषयमा कुनै विमति नरहेको र जनमत पनि गणतन्त्रकै पक्षमा रहेको स्पष्ट पारे। "गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्नु आवश्यक छैन, हामी गणतन्त्रकै लागि लडेर यहाँसम्म आएका हौं," उनले भने।
शान्ति प्रक्रिया र गणतन्त्रका विषयमा हालै बालुवाटारमा भएका छलफलबारे बोल्दै प्रचण्डले त्यसमार्फत वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको भन्ने चर्चालाई पूर्ण रूपमा अस्वीकार गरे। "गठबन्धनमा जाने र समर्थन गर्ने कुरा नै होइन, त्यो भ्रम नपरोस्," उनले प्रष्ट पारे।
प्रचण्डले गणतन्त्र नामले नभई कामले जोगिने बताए। "राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै गणतन्त्र जोगाउँदैनन्, सबै दलले राम्रो काम गरेमा गणतन्त्र संस्थागत हुन्छ," उनले जोड दिए।
सरकार परिवर्तनबारे बोल्दै उनले कांग्रेस र एमालेभित्र बढ्दो असन्तुष्टि राजनीतिक अस्थिरताको संकेत हुन सक्ने तर्क गरे। "आन्तरिक सूचनाहरू छन्, परिस्थिति गम्भीर बन्दै गएको हो, तर कहिले सरकार परिवर्तन हुन्छ हेर्न बाँकी छ," उनले भने।
भ्रष्टाचारका सवालमा उनले कुनै किसिमको सम्झौता हुन नसक्ने स्पष्ट पारे। "ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्छ भनेर कांग्रेसलाई समर्थन भनेको हो, तर भ्रष्टाचारमा कसैको पक्ष लिन सकिन्न," उनको भनाइ थियो।
विराटनगर भ्रमणका क्रममा प्रचण्ड ‘हाम्रोमत’ दैनिकको २२औं वार्षिकोत्सव र माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनमा सहभागी हुँदै छन्। साथै, उनले उद्योगी, व्यवसायी र कार्यकर्ताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।
प्रचण्ड आजै काठमाडौं फर्कने कार्यक्रम छ।
View : 97
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved