Biratnagar, Morang, Nepal
प्रदेश

खोटाङ- तराई जोड्ने बैकल्पिक बाटो निर्माण

मन्त्री राईद्वारा खोटाङ–तराई जोड्ने बैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्‍याक खोल्न शुभारम्भ

धाप्लाङघाटको पुल बनेपछि दिक्तेलसम्मको बाटो जोडिएर खोटाङलाई तराईसँग जोड्ने बैकल्पिक बाटो बनाउन टर्‍याक खोलने कार्यको शभारम्भ गरिएको मन्त्री राईले बताएका हुन् ।
-
अखवारका कुरा
४ जेठ २०८२, शनिवार

Advertisement

विराटनगर– भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङ–तराई जोड्ने बैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्‍याक खोलन शनिबार विधिवत रुपमा शुभारम्भ गरेका छन् । मन्त्री राईले बराहपोखरी गाउँपालिका वडा ३ स्थित लामाचौरमा विधिवत पूजापाठ गरी टर्‍याक खोलन शुभारम्भ गरेका हुन् ।

मन्त्री राईले गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई, वडाध्यक्षहरुलगायत नागरिक समाजको उपस्थितिमा टर्‍याक खोलने कार्यको शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा मन्त्री राईले यो टर्‍याक खुलेपछि खोटाङको तराईसँग जोड्ने बैकल्पिक बाटो हुने र त्यसले खोटाङको आर्थिक उन्नयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन् । ‘विकासमा पछाडि पारिएको खोटाङको विकास पहिलो प्राथमिकतामा राखेर अहिलेको प्रदेश सरकारले काम गरिरहेको सर्वविदितै छ,’ उनले भने, ‘असोज ९ गतेदेखि १२ गतेसम्म आएको बाढीले फोक्सिङ्टारको पुल बगाएपछि खोटाङ नाकाबन्दी परेको सबैलाई महशुस गराएपछि यो बाटोलाई दिक्तेल बजारसम्म पुर्‍याउन सबैको ध्यान तान्यो र बजेट व्यवस्थापन गरेर आज टर्‍याक खोलने कार्यको औपचारिक रुपमा सुरुवात हुन पुग्यो ।’

यो बाटो सुचारु गर्न आवश्यक धाप्लाङघाटको पुल बनाउने आफूले गरेको प्रतिबद्धता अनुसार अहिले द्रुत गतिमा काम भइरहेको र अब चाँडै पुल सञ्चालन हुने अवस्था निर्माण भएको उनको भनाइ थियो । धाप्लाङघाटको पुल बनेपछि दिक्तेलसम्मको बाटो जोडिएर खोटाङलाई तराईसँग जोड्ने बैकल्पिक बाटो बनाउन टर्‍याक खोलने कार्यको शभारम्भ गरिएको मन्त्री राईले बताएका हुन् । ‘यो बैकल्पिक बाटो पूर्ण रुपमा निर्माण गरेर सञ्चालन गर्ने काम आउँदो वर्ष पूरा हुन्छ,’ उनले भने, ‘अब यो बाटोको काम पूरा गरेर खोटाङको तराईसँग जोड्ने वैकल्पिक बाटो हुन्छ । यो बाटोमा पर्ने खोला, नदीमा आवश्यक सबै पुलमा बेलीब्रिज निर्माण हुन्छ र त्यसको लागि बजेट व्यवस्थापन भइसकेको छ । पिप्लेको पुलको डिपिआर गर्ने प्रक्रिया सुरु भइसको जानकारी गराउँछु । अब यहाँको परिचय भरियाको गाउँबाट फेरिएर सरर गाडीमा आवत जावत गर्न सक्ने भएका छौं ।’

वराहपोखरी गाउँपालिका अध्यक्ष बन्जाराले अहिले काम बढी र कुरा कम गर्ने बेला आएको बताएका छन् । उनले राजनीतिक नेतृत्वहरुले अहिलेसम्म कुरा धेरै गरिसकेकोले अब काम गर्नुपर्ने बेला आएको र काम गरेर जनताको आसा र भरोसा जगाउनेतर्फ अग्रसर भएको बताएका हुन् ।

‘मन्त्री ज्यूले २०८१ माघ १२ गते फोक्सिङ्टार र धाप्लाङघाटको बीचमा पर्ने साउनेचउर, बङ्दुवा, आसाबाल, अजिङ्गरे, भोर्मा फोक्सिङ्टारसम्म ९ किलोमीटर नयाँ टर्‍याक खोलनकै लागि पैदलयात्रा गर्नु भएको थियो,’ उनले भने, ‘पैदलयात्रा गरेको बेला मन्त्री ज्यूले गर्नुभएको प्रतिबद्धता आज पूरा भएको अनुभूति सबैलाई भएको छ । अब यस क्षेत्रकाबासिन्दालाई भरिया गाउँका बासिन्दा भन्ने उपमाबाट मुक्ति प्राप्त गराउन मन्त्री ज्यूले गर्नुभएको योगदान अविस्मरणीय रहनेछ ।’ 

फोक्सिङ्टार–धाप्लाङ्सम्मको ९ किलोमीटर सडकको टर्‍याक खोल्न प्रदेश सरकारले विभिन्न शिर्षकमा गरी गतवर्ष ३५ लाख र चालु आर्थिक वर्षमा ८५ लाख बजेट विनियोजन गरेर काम अघि बढाएको हो ।

चालु आवका लागि विनियोजित बजेटमध्ये बराहपोखरी गाउँपालिकामा प्रदेश सरकारले वित्तीय हस्तान्तरणमार्फत ४५ लाख बजेट प्रदान गरेको छ । उक्त बजेटबाट गाउँपालिकाले उपभोक्ता समितिमार्फत टर्‍याक खोलने कार्य सुरु गरेको हो । 

 

छुट्टै शिर्षकको बाँकी बजेटको टेण्डर गरेर प्रदेश सरकारले काम अघि बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

View : 112

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved