परमार्थ सिङ्घिया आरती
विराटनगर , श्रावण ३
विराटनगर-१ स्थित परोपकारघाटमा २०८१ श्रावणको नागपञ्चमी देखि सुरु भएर नियमित रुपमा हरेक शुक्रवार हुँदै आएको ‘परमार्थ सिङ्घिया आरती’ ५७ औं हप्तामा पुगेको छ। वैदिक मन्त्र र दीपमालाले झिलिमिली बनेको घाटमा शुक्रबार पनि भक्तजनको व्यापक सहभागिता देखियो।
आरतीमा पाँच जना आरती गुरुहरूले वैदिक विधिअनुसार मन्त्र उच्चारण गर्दै सामूहिक प्रार्थना गरे। घाटभरि गुञ्जिएको मन्त्र र भजनले उपस्थितहरूमा आध्यात्मिक ऊर्जा र उत्साहको अनुभूति दिलाएको सहभागीहरूले बताए।
५७ औं हप्ताको आरतीको अध्यक्षता चन्द्रबहादुर वनले गरे। यसपटक विराटनगर जेसीज परिवार अध्यक्ष प्रीतेशराज दाहालको नेतृत्वमा जेसीजका सदस्यहरूको विशेष सहभागिता रह्यो। आरतीका क्रममा जेसीजका सदस्य सिद्धार्थ साहले प्रस्तुत गरेको भावनात्मक भजनले उपस्थित भक्तजनलाई मन्त्रमुग्ध बनायो। भजनको धुनसँगै दीपमालाको उज्यालोले घाटको माहोल थप भक्तिमय बनेको थियो।
आरतीमा संरक्षकका रुपमा रहेका विश्वनाथ रिजाल , प्रमुख संरक्षक रहेका शंकर खरेल सस्थापक अध्यक्ष भिमेन्द्र बहादुर कार्की लगायतको प्रत्यक्ष मार्ग दर्शनले आरती निरन्तर सुचारु रहेको छ । कार्यक्रममा आरतिका संरक्षक तथा वडा नं. १ का वडा अध्यक्ष काजीबहादुर बस्नेत, प्रदेश सरकारका सचिव एकदेव अधिकारी, सामाजिक अभियन्ता देवचन्द्र घिमिरे, पारुल क्षेत्री, उद्धव केसीलगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी थिए।
आयोजक समितिका अनुसार आगामी श्रावण १३ गते विशेष समारोहका बीच १२ फिट अग्लो शिवमूर्ति शिलान्यास गरिनेछ।मुर्तिको जुना अखडाका महामण्डलेश्वर श्री शंकराचार्य हेमानन्द गिरी महाराजको प्रमुख आतिथ्यमा विराटनगर महानगरका मेयर नागेश कोइरालासँग संयुक्त रूपमा शिलान्यास गरिने कार्यक्रम तय गरिएको छ। शिलान्यासपछि महामण्डलेश्वर गिरी महाराजबाट विशेष धार्मिक प्रवचन पनि हुने जनाइएको छ।
कार्यक्रमबारे जानकारी दिँदै महासचिव राजन न्यौपानेले भक्तजनको बढ्दो सहभागिताले आयोजकलाई थप जिम्मेवार बनाएको बताए। “धार्मिक र सामाजिक दृष्टिले यो कार्यक्रम अब विराटनगरको एउटा विशेष पहिचान बनेको छ,” उनले भने, “सबै क्षेत्रको सहभागिताले यो आरती अझ समावेशी र भव्य बन्दै गएको छ।”
स्थानीयको भनाइमा यस्तो धार्मिक क्रियाकलापले पितृमोक्षको कामना मात्रै होइन, सामाजिक सद्भाव र सांस्कृतिक चेतना फैलाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ भने विराटनगरको पहिचानलाई अझ फराकिलो बनाउन मद्धत गरेको छ । आयोजकका अनुसार आरतीलाई अझ व्यवस्थित र आकर्षक बनाउन थप तयारी भइरहेको छ ।
View : 539
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved