Biratnagar, Morang, Nepal
स्वास्थ

सीमापारी स्वास्थ्य सहकार्य: विराटनगरको न्युरो अस्पताल र अमृता हस्पिटल विच सहकार्य

-
अखवारका कुरा
२० मंसिर २०८२, शनिवार

Advertisement

विराटनगर -  स्थापनाको २५ वर्ष पूरा गर्दै न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले भारतको प्रतिष्ठित अमृता हस्पिटलसँग औपचारिक सहकार्य शुरुआत गरेको छ। हरियाणा (दिल्ली एनसीआर)स्थित अमृता हस्पिटलसँगको सहकार्यले कोशी र मधेश प्रदेशका बिरामीले जटिल उपचार सहजै पाउने अस्पतालले दाबी गरेको छ।

सेवा विस्तारको योजनाअन्तर्गत सुरु गरिएको सहकार्यले क्यान्सर उपचार, अंग प्रत्यारोपणदेखि रोबोटिक सर्जरीसमेतका अत्याधुनिक सेवा अब नेपालमै समन्वय गरी उपलब्ध गराउन सकिने अस्पतालको भनाइ छ। अमृता हस्पिटल प्रसिद्ध आध्यात्मिक नेतृ माता अमृतानन्दमयी (अम्मा)द्वारा स्थापित २६०० शैय्या क्षमताको भारतकै सबैभन्दा ठूलो गैर–सरकारी अस्पताल मानिन्छ।

सहकार्य घोषणासँगै न्युरो अस्पतालले शुक्रबार न्यूरोलोजी (टाउको–नसा) र पल्मोनोलोजी (फोक्सो–दम) विषयमा ‘कन्टिन्युइङ मेडिकल एजुकेशन (CME)’ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा अमृता हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट प्रा. सञ्जय पाण्डे र विशेषज्ञ डा. सौरभ पाहुजाले कार्यपत्र प्रस्तुत गरेका थिए। कोशी र  मधेशका ६० भन्दा बढी विशेषज्ञ चिकित्सकको सहभागिता रहेको अस्पतालले जनाएको छ।

अर्कोतर्फ, शनिबार आयोजित निःशुल्क ओपीडी क्याम्पमा अमृता हस्पिटलका चिकित्सकसँगै न्युरो अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट, डा. सुनन्द पौडेललगायतको टोलीले सेवा प्रदान गरेको थियो।

न्युरो अस्पतालका राजेश भट्टराईका अनुसार, “दुई अस्पतालबीचको सहकार्यले जटिल उपचारका लागि दिल्ली धाउनुपर्ने आवश्यकता धेरै घट्नेछ। कोशी र मधेशका बिरामीका लागि यो ठूलो राहत हुनेछ।”

उनका अनुसार आगामी दिनमा सहकार्यका माध्यमबाट अस्पतालले आफ्ना सेवा र पूर्वाधार विस्तार गर्दै लैजाने योजना छ।

View : 63

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved