सर्लाही । मिथिलाञ्चलमा आज मैथिली महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक धुमधाम साथ मनाउँदै छन् । यो पर्वलाई मिथिला क्षेत्रमा ‘‘वसराइत पावइन’ नामले पनि चिनिन्छ ।
हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा महिलाहरू निराहार व्रत बसेर वर र पीपलको रुखमुनि सामूहिक रूपमा पूजा अर्चना गर्ने गरिन्छ । पान, सुपारी, केरा, फलफूल, धुप, अगरबत्तीलगायतका सामग्री चढाएर महिलाहरूले वरको रुखमा रातो र पहेँलो धागो बेरी पूजा गर्ने गरिन्छ ।
बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रंग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजा अर्चना गरेर भोलिपल्ट बिहान नुहाई धुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ ।
धार्मिक विश्वासअनुसार सत्ययुगमा सतिसावित्रीले कठोर व्रत र तपस्याबाट आफ्ना पति सत्य वानको प्राण यमराजबाट फिर्ता ल्याएकी थिइन् । यसैले मिथिलामा विवाहित महिलाहरूले पतिको दीर्घायु र अटल सौभाग्यको कामना गर्दै वट सावित्री पर्व मनाउने परम्परा रहिआएको छ ।
View : 139
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved