विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनको तयारीमा रहेको विराटनगर किंग्सलाई बागमती प्लास्टिक उद्योगको साथ मिलेको छ। किंग्स र उद्योगबीच प्रायोजन सम्झौता भएसँगै टोलीको तयारीमा थप बल पुग्ने अपेक्षा गरिएको छ।
विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपाली क्रिकेटप्रति बढ्दो आकर्षणसँगै भएको यो सम्झौताले खेलकुद र निजी क्षेत्रबीचको सहकार्यलाई अघि बढाएको छ। बागमती प्लास्टिकको साथले आगामी सिजनका लागि टोलीको तयारीलाई सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा विराटनगर किंग्सका सहमालिक पारस लुनियाले एनपीएलको तेस्रो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति दिएको जानकारी दिए। उनले उक्त स्वीकृति नेपाली क्रिकेटका लागि खुसीको खबर भएको बताए।
एनपीएलको तेस्रो सिजनले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनुका साथै घरेलु क्रिकेटको प्रतिस्पर्धा र दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको छ। यही पृष्ठभूमिमा विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच भएको सहकार्यलाई टोलीको आगामी यात्राका लागि महत्त्वपूर्ण साथका रूपमा हेरिएको छ।
View : 31
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved