इटहरी - विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास तथा प्रभावकारी अभिव्यक्ति विकास गर्ने उद्देश्यले आयोजना गरिएको सेकेन्डरी लेभल ओराटोरी च्याम्पियनसिपको छैटौं संस्करण इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०२१ मा JCI इटहरी जुनियरका तत्कालीन अध्यक्ष जेसी पूजा फुयालको कार्यकालमा सुरु गरिएको उक्त प्रतियोगिता यस वर्ष पनि उत्साहजनक सहभागितासहित सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रम भासिता वसिष्ठको प्रमुख आतिथ्यता तथा जुनियर जेसी ओमकार खटिवडाको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउँदै सामाजिक तथा समसामयिक विषयहरूमा आफ्नो विचार प्रस्तुत गरेका थिए। वक्तृत्वकलामार्फत विद्यार्थीहरूले आत्मविश्वास, तर्क क्षमता र प्रभावकारी अभिव्यक्ति प्रदर्शन गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुष्मा कलेज प्रथम भएको छ। त्यसैगरी विश्व आदर्श स्कूल द्वितीय र मोडर्न प्रिपरेटरी बोर्डिङ स्कूल तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमको समन्वय जुनियर जेसी क्रिस्टिना पौडेलले गर्नुभएको थियो। प्रतियोगिता इटहरीस्थित कस्तुरी कलेजको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विजेता विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको आयोजकले जनाएको छ।
View : 97
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved